नुवाकोटका सरकारी अधिकृत पाटनको मसाज सेन्टरमा भेटिए

नुवाकोटका सरकारी अधिकृत पाटनको मसाज सेन्टरमा भेटिए

सरकारी मोटरसाइकल लिएर मसाज सेन्टर पुगेका एक जना सरकारी अधिकृत समातिएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकामा कार्यरत अधिकृत ज्ञानेन्द्रप्रसाद भट्टलाई सरकारी मोटरसाइकलको दुरुपयोग गरेको आरोपमा हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको मोटरसाइकल चढेर ललितपुरको गोल्डेन डुअर सफ्ट स्पा एण्ड ब्यूटी छिरेका आठौं तहका अधिकृत भट्टलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जीसीले जानकारी दिए ।

उनका अनुसार सरकारी मोटरसाइकलको दुरुपयोग गरिएको सूचनाका आधारमा ती अधिकृतलाई पक्राउ गरिएको हो । हाल उनलाई अन्य कारबाहीको लागि सम्बन्धित कार्यालयमा बुझाइएको बताइएको छ ।

‘मसाज सेन्टर अघिल्तिर सरकारी नम्बर प्लेटको मोटरसाइकल देखेपछि सर्वसाधारणले हामीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा ती अधिकृतलाई नियन्त्रणमा लिएका हौँ,’ डिएसपी जीसीले भने, ‘अरु उहाँमाथि थप कारबाही के गर्ने त्यो सम्बन्धित कार्यालयले नै गर्छ । हामीले पत्र लेखेर उहाँकै कार्यालयमा बुझाइसकेका छौँ ।’

शिवपुरी गाउँपालिकाका मेयर गोविन्दप्रसाद थपलियाले यसबारेमा थप बुझेर मात्र टुङ्गो लाग्ने बताए । सरकारी सवारीसाधन कार्यालय समयबाहेक अन्यथा जथाभावी प्रयोग गर्न नपाइने भन्दै अधिकृतमाथि छानबिन गर्ने मेयर थपलियाले जानकारी दिए ।

टिप्पणीहरू