संसदीय समितिहरु पनि उत्तिकै सक्रिय

संसदीय समितिहरु पनि उत्तिकै सक्रिय

प्रतिनिधिसभाको कार्यकाल अन्त्यतिर आइपुग्दा संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । दुई दुई पटकको विघटनपछि पुनस्र्थापित प्रतिनिधिसभाको चालु कार्यकालको अन्तिम अधिवेशन भइरहेका बेला समितिहरु पनि क्रियाशील भएका हुन् ।

हिजोमात्रै सिंहदरबारस्थित संघीय संसद सचिवालयमा चार वटा समितिको बैठक बसेको थियो । सभापति कृष्णभक्त पोखरेलको सभापतित्वमा बिहान पौने ११ देखि पौने १ बजेसम्म बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा युएन महासन्धिका विषयमा छलफल भएको थियो ।

बहुराष्ट्रिय संगठित अपराधविरूध्दको संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गत मानव बेचबिखन, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको पूरक आलेख बारेमा समितिमा छलफल भएको एक सदस्यले जानकारी दिएका छन् ।

संसद सचिवालयमा हिजो महिला तथा सामाजिक समितिको बैठक पनि बसेको थियो । सभापति निरुदेवी पालको सभापतित्वमा साढे ११ देखि पौने १ बजेसम्म बसेको बैठकले मधेसी आयोगको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन र आगामी आ.व.को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल भएको जनाइएको छ ।

संसद सचिवालयमै साढे ११ देखि २ बजेसम्म उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बसेको थियो । सभापति विमलप्रसाद श्रीवास्तवको सभापतित्वमा बसेको बैठकमा वैदेशिक रोजगार तथा श्रमसम्बन्धी विविध विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै, हिजै संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक पनि बसेको थियो । सभापति निरादेवी जैरुको सभापतित्वमा पौने १ बजेदेखि १ बजेसम्म बसेको बैठकमा अमेरिकाको राज्य साझेदारी कार्यक्रम एसपीपीका विषयमा छलफल भएको समितिका एक सदस्यले बताए ।

टिप्पणीहरू