यस्ता छन् विप्लवका नेताहरुमाथि लागेका आरोप (मिसिल प्रमाणसहित)

यस्ता छन् विप्लवका नेताहरुमाथि लागेका आरोप (मिसिल प्रमाणसहित)

संसदवादका विरुद्ध ‘एकीकृत जनक्रान्ति’ भन्दै केही वर्ष भूमिगत भएर २०७७ साल फागुन २० गते तत्कालीन सरकारसँग तीन बुँदे सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा फर्किएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताविरुद्ध ‘वारेन्ट’ जारी भएको छ ।

सरकारसँगको सहमतिअनुसार जेलमा रहेका कार्यकर्ता छुटाउन नेताहरु दौडधुपमा रहेकै बेला ललितपुर जिल्ला अदालतले अस्ति महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेता–कार्यकर्ताविरुद्ध विभिन्न कसूरमा ३५ दिने पूर्जी जारी गरेको हो । उनीहरुविरुद्ध अदालतमा बिभिन्न मितिमा दर्ता भएका हातहतियार तथा खरखजाना,आपराधिक लाभ तथा संगठित अपराध,कर्तव्य ज्यान र राज्यविरुद्धको अपराधसम्बन्धी कसूरका मुद्दामा अदालतमा हाजिर नभएको भन्दै पूर्जी जारी भएको हो ।

विप्लव समूह प्रतिबन्धमा पर्नुअगाडि नख्खुस्थित एनसेलको कार्यालयमा भएको बिष्फोटको घटना,सानेपामा भएको चन्दा संकलन, ललितपुरमा बरामद भएको डेटोनेटर, बारुदलगायतका विष्फोटक पदार्थसम्बन्धी कसूरलगायत घटनामा सरकारले मुद्दा चलाएको थियो । दुई जना सर्वसाधारणको ज्यान जानेगरी भएको नख्खु घटनापछि नै ओली सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको हो ।

२०७७ मंसिर ५ गते सानेपामा अवैध रुपले चन्दा संकलन गरेको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिका–२ का २५ वर्षीय शिवबहादुर महतारा, सल्यानकै साविक हिवल्चा गाविसका ३५ वर्षीय दिपककुमार बोहोरा,दोलखाको बैतेश्वर गाउँपालिका–५ का ३१ वर्षीय लोकेन्द्रबहादुर दर्नाललगायत ३६ जनाविरुद्ध ०७७ पुस २७ गते आपराधिक लाभ तथा संगठित अपराधको कसूरमा मुद्दा दर्ता भएको थियो ।

“मोटरसाइकललगायत सवारी साधन खरिद गरेको,कतिपयको साथबाट स्रोत नखुलेको लाखौं रुपैयाँ फेला परेको र सो समूहका केन्द्रीय सदस्य तथा समूहको निर्देशनमा आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर जानाजान सर्वसाधारणलाई डर, त्रासमा पारी ठूलो मात्रामा रकम उठाई विप्लव समूहसँग आबद्ध व्यक्तिहरुलाई बैंक तथा वित्तीय संस्थामार्फत् रकम पठाएको समेत प्रहरी अनुसन्धानमा सप्रमाण खुलेको मिसिलमा देखिन्छ ।”

त्यस्तै, बुद्धबहादुर सिंंतानसहित ७ जनाविरुद्ध ०७७ असार २२ गते हातहतियार तथा खरखजाना,विष्फोटक पदार्थसम्बन्धी कसूरमा अर्को मुद्दा दर्ता भएको थियो भने सोही कसूरमा २०७७ मङ्सिर १० गते सविता अधिकारी रेग्मीसहितलाई प्रतिवादी बनाएर मुद्दा परेको थियो ।

हेमन्तप्रकाश वली”सुदर्शन” (हाल बिप्लवबाट अलग्गिएका) सहित सो पार्टीका कार्यकर्ताविरुद्ध २०७६ जेठ ६ गते हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ र राजद्रोहसम्बन्धी कसूरमा सरकारले मुद्दा चलाएको थियो । ती मुद्दाका प्रतिवादीहरु अहिले फरार रहेकाले अदालतले प्रक्रियाअन्तर्गत नै ताकेता गरेको हो । हाल विप्लव समूह छाडेर छुट्टै पार्टीको संयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चन, हेमन्तप्रकाश वली सुदर्शनलगायत थुप्रै नेता, कार्यकर्ता पक्राउ परेर धरौटीमा छुटिसकेका छन् ।

उनीहरु सबैलाई मुुलुकी अपराध संहिता २०७४ को दफा २५३ को अपराधिक लाभ लिएको, दफा ३६ विरुद्ध मतियार भएको आरोप लगाइएको छ । उनीहरुको विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर,मिसिल संलग्न बैंक स्टेटमेण्टबाट देखिएको प्रहरीको आरोपमा उल्लेख छ । उक्त आरोपलाई आरोपितहरुले स्वीकारेर दस्तखत गरेको भनिएको छ ।

मोटरसाइकललगायत सवारी साधन खरिद गरेको,कतिपयको साथबाट स्रोत नखुलेको लाखौं रुपैयाँ फेला परेको र सो समूहका केन्द्रीय सदस्य तथा समूहको निर्देशनमा आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर जानाजान सर्वसाधारणलाई डर, त्रासमा पारी ठूलो मात्रामा रकम उठाई विप्लव समूहसँग आबद्ध व्यक्तिहरुलाई बैंक तथा वित्तीय संस्थामार्फत् रकम पठाएको समेत प्रहरी अनुसन्धानमा सप्रमाण खुलेको मिसिलमा देखिन्छ ।

त्यसरी उठाइएका लाखौं रकम विप्लव समूहद्वारा तयार पारिएको सैनिक दस्ता कम्पनी १, कम्पनी २, कम्पनी ३, कम्पनी ४ र कम्पनी ५ समेतमा रहेका कार्यकर्ताहरुलाई विभिन्न माध्यमबाट बैंक तथा वित्तीय संस्थामार्फत् नियमित र ठूलो मात्रामा पठाएको समेत जिल्ला प्रहरी ललितपुरद्वारा अदालतमा पेश गरिएको कागजातमा उल्लेख छ ।

टिप्पणीहरू