जनप्रतिनिधि र आरक्षको मिलेमतोमा ‘वनमारा’ जोगाउन खोजेको आरोप
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ का वडाध्यक्ष दिपक खड्कामाथि त्यहाँस्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको हाताभित्र रातारात काटिएका सयौँ सालका रुखको घटना सामसुम पार्न चलखेल गरेको आरोप लागेको छ । एकाएक रुख काटिएपछि तनावमा परेका खड्का भित्रभित्रै घटना सामसुम पार्न लागिपरेको स्थानीयले दाबी गरेका हुन् ।
जग्गा प्लटिङ्ग व्यवसायीसमेत रहेका खड्काले वन विनाश गरि सार्वजनिक जग्गाबाट बाटो लैजान सेटिङमा काम गरिरहेको भन्नेहरु पनि भेटिएका छन् । उनले राजनीतिक शक्तिको आडमा निर्वाध रुख काटेको तर, जनप्रतिनिधिलाई ‘कानुन नलाग्ने’ भन्दै स्थानीयलाई उक्साउने गरेकोसमेत स्रोतको दाबी छ ।
हेटौंडा उपमहानगरपालिका १४, ड्राइभर डाँडामा भ्यु टावर निर्माणको निम्ति ३९ वटा सालकोसहित साना–ठूला गरि ६७ वटा रुख तथा बिरुवा काटिएका थिए । उक्त घटना लुकाउने प्रयासअन्तर्गत वडाध्यक्ष सक्रिय भएपछि ठूलै राजनीतिक सेटिङको अनुमान गरिएको हो ।
होम स्टे र भ्यु टावरका लागि जंगल फँडानी गरेको भनिए पनि मूल उद्देश्य भने जग्गा प्लटिङ नै भएको स्थानीय स्रोत बताउँछ । ‘वडाध्यक्ष खड्काले त्यहाँ जग्गा किनेकाले उनको जग्गा प्लटिङका लागि सजिलो पार्न जंगलका रुख रातारात काट्न लगाइएको हो,’ यसमा वडाध्यक्ष पूरै जिम्मेवार छन्’, एक स्थानीयले हाकाहाकी बताए ।
त्यसो त, रातारात काँचो सालसहितका रुख काटिँदा पनि उपभोक्ता समिति, पर्सा वन्यजन्तु आरक्ष र जनप्रतिनिधि ‘तैं चुप, मैं चुप’ हुनुले पनि आशंका गर्ने र आरोप लगाउनेलाई बल मिलेको छ । अध्यक्ष खड्का पक्राउ परेकालाई छुटाउन लागेको भन्दै अरु स्थानीयले पनि घटनामा उनको संलग्नताको आशंका गरे ।
यता, रुख काटिएको सामुदायिक जंगल पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने भएकाले जनप्रतिनिधिहरुले सोचेजस्तो ‘राजनीतिक तुजुक’ देखाएर भनसुन चल्ने सम्भावना नरहेको बताइन्छ । आरक्षका वार्डेन मनोज साहले भने, ‘रुख सयौँ काटिएकै हो, सात जनालाई नियन्त्रणमा लिएका थियौँ, दुई जना ज्येष्ठ नागरिक भएकाले छाडेका हौँ, बाँकीलाई नियन्त्रणमा लिएर म्याद थपेका छौँ । अनुसन्धान जारी छ ।’
साहले यस्तो प्रतिक्रिया दिएको एक हप्ता नपुग्दै उनी केन्द्रमा तानिनु, तानिएको र घटनाको गहिराइसम्म नपुगी स्थानीय सोझासिधा गाउँले मात्र पक्राउ पर्नुले घटना गुपचुप मिलाउन खोजेको आरोप लागेको हो । आरक्षभित्र चरीचरण समेत नपाउने भनिएको छ । तर धेरै रुख बिरुवा काटिँदासमेत आरक्षले चासो नदेखाएकाले उसको समेत मिलेमत्तोमा काम तमाम पार्न खोजिएको आशंका गर्नु स्वाभाविक भएको बताइन्छ ।
उपभोक्ता समितिका अध्यक्ष छलफल भएको ठाउँबाट आफ्नो मोबाइल नै छाडेर फरार भएपछि घटना थप रहस्यमय बनेको हो ।
स्थानीय सरकारको भ्यू टावरको विकास योजनाले स्थानीय सात जनालाई जेलसमेत पुर्याको छ । अग्लो डाँडाको टुप्पोमा वन मासेर भ्यूू टावर ठड्याउने कस्तो विकासको मोडल हो ? कस्ले काट्न लगायो त्यति धेरै रुख ? स्थानीयले नै हुर्काएका रुख विरुवा आखिर कसरी काटियो ? पिल्लरमात्रै ठडिएको भ्यू टावर वरिपरि सफा गर्ने नाउँमा रुख काट्न लगाउने को हो ? स्थानीयले वनमा डढेलो लाग्दा मध्यरातमा ज्यानको प्रवाह नगरि जोगाएको वन मासेको आरोपमा किन थुनिए सोझा जनता ? स्थानीयले यस्ता प्रश्न उठाउने गरेका छन् ।
टिप्पणीहरू