एउटा राउतले अर्को राउतको राजीनामा मागे
सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले उनको राजीनामा मागेको हो ।
पहिलेदेखि नै ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको बताउँदै आएको जनमतका नेता वीपी साहले आफूहरुको दबाबमा छानबिन भएको दाबी गरेका छन् । अदालतमा मुद्दा दर्ता भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अख्तियारले छानबिन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने थियो, त्यतिबेला दिनुभएन । तर, अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ ।’
मुख्यमन्त्रीको संलग्नता बिना यति ठूलो भ्रष्टाचार हुन नसक्ने भन्दै उनले कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप पनि लगाए । राजनीतिक दबाब र प्रभावका कारण अख्तियारले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको उनको भनाइ छ ।
अख्तियारले तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
टिप्पणीहरू