टीभीमा समाचार भन्दाभन्दै पत्रकार भूमिराज भूमिगत
आफ्ना दाजुभाउजू रोमानियामा रहेको र त्यहाँ किचन हेल्परका लागि पठाइदिन्छु भन्दै १४ जना व्यक्तिबाट रकम लिएर ठगेको उजुरी परेपछि झापाली पत्रकार भूमिराज पराजुली फरार भएका छन् ।
रोमानिया पठाइदिने भन्दै १४ जना व्यक्तिबाट रकम ठगेको उजुरी परेपछि उनी फरार भएका हुन् । दमकस्थित हिमशिखर टेलिभिजनका समाचार प्रमुख पराजुली प्रेस चौतारी झापा माईपश्चिमका अध्यक्ष समेत हुन् ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार कसुर मुद्दामा पराजुलीविरुद्ध पुर्जी जारी गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको छ । पराजुलीविरुद्ध वैदेशिक रोजगार विभागमा असार २० गते उजुरी परेको थियो । त्यसपछि विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गर्यो ।विभागकी अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरेलगत्तै उनी बेपत्ता भएका छन् ।
युरोपियन देश रोमानिया पठाउने भन्दै पराजुलीले झापाको दमक, पाँडाजुगी,बिर्तामोड, भद्रपुर,इलाम र मोरङको बेलवारीका १४ जनाबाट रकम लिएको खुलेको प्रहरीले जनाएको छ ।
पराजुलीले बिर्तामोडका दीपक अधिकारीबाट तीन लाख, शिवसतासीका नरेन्द्र तामाङबाट २ लाख ९० हजार,भद्रपुर निवासी नरेश मगर र केशवकुमार मगरबाट डेढ डेढ लाख,मोरङ बेलबारीका दिनेश धिमालबाट एक लाख ३० हजार,देउमाई इलामका हस्तवहादुर गोलेबाट २ लाख ९० हजार र देवजङ्ग राईबाट एक लाख ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
पन्ध्र बीस लाखभन्दा बढी ठगेको पुष्टि भैसकेपछि बेपत्ते सूचीमा दरिएका पराजुली लामो समय मलेसिया बसेका थिए । त्यहाँ रहँदा पनि सक्रिय पत्रकारिता गरेका उनी केही बर्षअघि स्वदेश फर्किए । उनी आफैंले मान्छे ठगे वा कुनै दलालको खेलमा परे यकिन भएको छैन ।
टिप्पणीहरू