कहिलेसम्म रहन्छ प्रतिनिधिसभाको आयु ?
आगामी मङ्सिर चार गते एकै चरणमा संघ तथा प्रदेशको निर्वाचन मिति घोषणा भैसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकालबारे आम चासो छ । निर्वाचनकाे मिति घाेषणा भएसँगै संसदकाे कार्यकाल कहिलेसम्म रहन्छ भन्ने विषयमा फरक-फरक मत पनि सार्वजनिक भएका छन् ।
एकथरि संविधानविद्हरु निर्वाचनकाे मिति घाेषणा भएसँगै संसद स्वत: विघटन हुने बताउँछन्,केहीले भने मनाेनयन दर्ता भएपछि मात्र सांसदकाे कार्यकाल समाप्त हुने जिकिर गरिरहेका छन् । त्यसोभए मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा कहिलेसम्म सक्रिय हुन्छ त ?
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पनि निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएपछि मात्रै मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने बताउनुभएको छ ।
संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने प्रष्ट व्यवस्था गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको दुई-दुई पटकको विघटन प्रयास अदालतले उल्ट्याएपछि पुनर्स्थापित प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल मंसिरमा सकिंदैछ । ०७४ सालमा मङ्सिर १० र २१ मा दुई चरणमा चुनाव भएको थियो ।
संविधानको सोही व्यवस्थाअनुसार सरकारले मंसिर चार गते चुनावको मिति तोकेको हो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका कानुनमन्त्री गोविन्द बन्दीका अनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको मनोनयन बुझाउने दिनसम्मै संसद क्रियाशील रहन्छ ।
यता, संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले पनि निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएपछि मात्रै मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने बताउनुभएको छ । ‘विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुन्छ,’ उहाँले भन्नुभयो ।
२०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उहाँको भनाइ छ । यही अभ्यासका आधारमा उम्मेदवारको बन्दसूची बुझाएपछि संघ र प्रदेशका संसद निष्क्रिय हुने प्रवक्ता पाण्डे बताउनु हुन्छ ।
निर्वाचनको मिति घोषणाले संसद् सञ्चालनमा बाधा नपुग्ने पनि उहाँको भनाइ छ । ‘चुनावको मिति तोक्दैमा नयाँ विधेयक ल्याउन, सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावमाथि छलफलसहित पारित गर्न कुनै बाधा हुँदैन’, प्रवक्ता पाण्डेले भन्नुभयो ।
टिप्पणीहरू