एमाले अध्यक्षको फेरि दावी: बालकोटको घर मेरो होइन

एमाले अध्यक्षको फेरि दावी: बालकोटको घर मेरो होइन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी निवास रहेको बालकोटको भव्य दुई वटा घर र त्यसले चर्चेको जग्गा आफ्नो नभएको बताउनुभएको छ । उहाँले ती घर दान दिइसकेकाले आफूले बेच्न नपाउने उल्लेख गर्नुभएको छ ।

‘मेरो र श्रीमतीको नाममा रहेको भक्तपुरको घर र जग्गा दान गरिसकेको छु । उपचारमा पैसा चाहियो भने अब ती घर बेच्न पाउँदिन । मेरो उपचार तपाईंहरुले गरिदिनुभयो भने मात्र सम्भव छ,’ राजधानीमा आज बिहान युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो ।

ओलीले दान गरेको घर जग्गाको बारेमा पटक पटक उल्लेख गर्दै आउनुभएको छ । तर, घर नबेचे पनि उहाँको उपचार सरकारी कोषबाट अहिलेसम्म उहाँको उपचारमा १९ करोड खर्च भैसकेको छ । सरकारी कोषबाट आफ्नो उपचार गरिएको सन्दर्भ भने उहाँले बताउने गर्नुभएको छैन ।

कार्यक्रममा अध्यक्ष ओलीले ३३ प्रतिशत महिलालाई पार्टीले निर्वाचनमा जिताउने सुनिश्चित गरेको दाबी गर्दै भन्नुभयो, ‘अहिलेसम्म नातावाद र कृपावादबाट टाढा रहेकाले सबैलाई समान रूपले हेरेको छु । छोरी,ज्वाईं,बुहारीलाई पनि माथिल्लो तहमा ल्याउने हाम्रो पार्टी होइन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै उहाँले आफ्नो एउटा भाइ अहिले पनि झापामा हलो जोतेर जिविका चलाइरहेको बताउनुभयो । ‘एउटा भाइ छ, त्यो पनि भद्रपुरमा हलो जोतेर बसेको छ । अहिले वडा कमिटीमा संगठित छ,’ उहाँको भनाइ छ ।

टिप्पणीहरू