कुमारी आमामाथि बलात्कारको आरोप लागेका श्रेष्ठ समातिए
कुमारी आमा निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले श्रेष्ठलाई हिजो साँझ धनुषाबाट पक्राउ गरेको हो ।
धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार श्रेष्ठले ड्युटीमा खटिएका प्रहरीसँग झगडा गरेपछि पक्रिएको हो । क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताए ।
निहारिकाले, ‘आफूमाथि श्रेष्ठले पटक पटक बलात्कार गरेको र बलात्कारबाट छोरा जन्मिएको’ बताउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाहीको माग गर्दै छोराको डिएनए परीक्षणको माग गरेकी हुन् ।
उनी माग पूरा गराउन काठमाडौँको माइतीघर मण्डला र वसन्तपुरमा आमरण अनसन बस्दै आएकी छन् । उनको अनसन तोडाउन गृह मन्त्रालयले यसअघि पाँच बुँदे सहमति गरेको थियो ।
सरकारले आफूसँगको सम्झौता पालना नगरेको र कतैबाट पनि सुनुवाइ नभएको कारण देखाउँदै उनले गत शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । अहिले उनको शिक्षण अस्पताल महाराजगञ्जको मानसिक वार्डमा उपचार भइरहेको छ ।
टिप्पणीहरू