बानियाँको विरासतमा पराजुलीको धावा
-रमेश बन्जारा
आगामी संसदीय निर्वाचनको तालिका सार्वजनिक भएसँगै दल र तिनका नेता तथा कार्यकर्तामा चुनावी सरगर्मी बढेको छ । बागमती प्रदेशको राजधानी हेटौंडासमेत त्यसबाट अछुतो छैन । मकवानपुरमा टिकटको लागि काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको काठमाडौंमा धेरै, जिल्लामा थोरै बास हुन थालेको छ ।
जिल्लामा गुटको राजनीति प्रष्ट रहेको अवस्थामा टिकटको लागि आफ्ना नेतालाई प्रभावमा पार्न उनीहरु कम्मर कसेर लागेको देखिन्छ । यद्यपि मकवानपुरमा भने नेपाली काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँलाई आफ्नो बिरासत जोगाउन कठिन हुने विश्लेषण गर्न थालिएको छ । नेपाली काँग्रेस मकवानपुर जिल्ला समितिमा उनैका कारण धेरै पटक विवाद उत्पन्न भएको बताइन्छ ।
अधिकांश जिल्लास्तरीय नेता उनको विरुद्ध देखिएका छन् । काँग्रेस प्रदेश सभापति बानियाको विरासतमा जिल्लाका प्रभावशाली नेता भरत पराजुलीले दाबी गरेपछि उनी अप्ठेरोमा पर्न थालेको काँग्रेसीहरुको बुझाइ छ । गत स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा नातेदार र आसेपासेलाई प्राथमिकता दिएको आरोप लागेका बानियाँले पार्टीको बदनाम गराएको आरोप खेप्दै आएका छन् ।
उनको विरासत रहेको निर्वाचन क्षेत्रमा काँग्रेसकै प्रभावशाली नेता पराजुलीले उम्मेदवारी घोषणा गरेपछि बानियाँबाट बेखुश रहेका कार्यकर्ता खुशी देखिएको काँग्रेस मकवानपुरका एक जना महाधिवेशन प्रतिनिधिले बताए । उनले भने, ‘बानियाँजीमा निक्कै घमण्ड पलायो । पार्टीलाई आफ्नो पेवा ठान्नुभयो र परिवारवाद लाद्न थाल्नुभयो । यस्तो भएपछि मकवानपुरमा घमण्ड र परिवारवादको राजनीति गर्नेको अन्त्य गर्न पराजुलीले उम्मेदवारी दिनुपर्ने अवस्था आएको हो । यो मकवानपुर काँग्रेसको लागि सुनौलो अवसर हो ।’
चुनावको लागि ९६ दिन बाँकी रहँदा मकवानपुरमा स्वतन्त्र दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवार हुने बताएका छन् । पुराना काँग्रेसी नेतासमेत रहेका पराजुलीले २०४८ सालमा क्रियाशील सदस्यता प्राप्त गरेका हुन् । २०५४ सालमा हाँडीखोला गाविस अध्यक्ष भए भने तीन पटक काँग्रेस महासमिति सदस्य भइसकेको बताइन्छ । मुलुक संघीयतामा गएपछि उनी मनहरी गाउँपालिकाको संस्थापक सभापति बने । धेरैले उनलाई त्यागी नेताको उपमा समेत दिएका छन् ।
उनै पराजुलीले आगामी मंसिर ४ गतेलाई लक्षित गर्दै सामजिक सञ्जालमा लेखेका छन् ‘जय नेपाल,आफ्नो जन्मभूमि र कर्मभूमिबाट म पनि उठ्ने हो है !’ पराजुलीले घोषणा गरेको क्षेत्रबाट यसअघि बानियाँ विजयी भएका थिए । स्थानीय तह निर्वाचनमा काँग्रेसको गढ मानिएका ठाउँमा अन्य दलका उम्मेदवारलाई टिकट दिएर बानियाँले आफ्नो लागि क्षेत्र सुरक्षित गरेको आरोप लागेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा रहेका स्थानीय तहमा काँग्रेस उम्मेदवारलाई टिकट दिए पनि अन्यत्र अरुलाई दिएर आफ्नो क्षेत्र सुरक्षित गराएका थिए ।
तर, पराजुलीले उक्त क्षेत्रमा दाबी गरेपछि अब बानियाँसँग आफ्नो बिरासत रहेको भनिएको स्थान छाड्ने वा पुनः उधारो सहमति गर्ने विकल्प बाँकी देखिन्छ । पराजुलीले कार्यकर्ता भेटघाट र चुनाव लक्षित कार्यक्रम शुरु गरिसकेका छन् । बानियाँले हरेक निर्वाचनमा फरक क्षेत्रबाट चुनाव लड्ने गरेका कारण उनलाई मकवानपुरे जनताले टुरिष्ट उम्मेदवारको रुपमा व्याख्या गर्ने गरेको काँग्रेसीहरु नै बताउँछन् ।
टिप्पणीहरू