हिसाब नबुझाउनेलाई निर्वाचन आयोगको ताकेता
निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्चको फेहरिस्त नबुझाउने स्थानीय तह निर्वाचनका उम्मेदवारहरुलाई स्पष्टीकरण सोधेको छ । त्यस्तै समयावधि सकिएपछि झारा टार्ने हिसाबले खर्च विवरण पेश गर्ने उम्मेदवार पनि आयोगको ताकेतामा परेका छन् ।
आयोगले खर्च विवरण बुझाउन नसक्नुको कारण सात दिनभित्र पेश गर्न भनेको छ । ‘निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आफूलाई कारबाही गर्न नपर्ने हो कि होइन ? यसको जवाफ निर्वाचन कार्यालय वा आयोगमा पेश गर्नुहोला,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्चको बिल भरपाईसहित आयोगले तोकेको कार्यालयमा पठाउनुपर्ने उल्लेख छ । त्यस्तै, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) बमोजिम पनि निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण तोकिएको ढाँचामा बुझाउनुपर्ने भनिएको छ ।
तर, स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएको महिनौं बितिसक्दा पनि एक लाखभन्दा बढी उम्मेदवारले आफ्नो खर्च विवरण बुझाएका छैनन् ।
टिप्पणीहरू