अझै गाउँमा टेको लगाएर बिजुलीको तार टाँग्नुपर्ने बाध्यता

अझै गाउँमा टेको लगाएर बिजुलीको तार टाँग्नुपर्ने बाध्यता

काभ्रेपलाञ्चोकका अधिकांश गाउँमा विद्युतीकरण भएको छ । तर चौरीदेउराली गाउँपालिका १, सानो बाङथलीमा अहिले पनि बिजुलीको पोलको समस्या पहिले झैँ छ ।

स्थानीयलाई अझै पनि टेको लगाएर खम्बामा बिजुलीको तार अड्याउनुपर्ने बाध्यता देखिन्छ । स्थानीय निकायले बिजुलीको सग्लो पोल गाड्नेतर्फ चासो नदेखाउँदा स्थानीय मर्कामा परेका छन् ।

ज्यान जोखिममा राखेर बिजुली बत्ति बाल्नुपर्ने भन्दै उनीहरुले गुनासो गरेका छन् । विद्युत सर्ट भएर हालै मात्र एक जनाको ज्यान गएको छ । २०६७ सालदेखि थालिएको सामुदायिक विद्युतको समेत स्थानीयले राम्रोसँग उपभोग गर्न पाएका छैनन् ।

सानो बाङ्थलीका वडाध्यक्ष सुनिल लामाले आफूले यस विषयमा पहल गरिरहेको बताएका छन् । बिजुलीको पोलको निम्ति गाउँपालिकासँग सहकार्य गरी १० लाख रुपैयाँ बजेट छुट्इयाएको उनले जानकारी दिए ।

‘पालिकासँग छलफल गरेर १० लाख छुट्याएका छौं । तर, बजेट पर्याप्त छैन । थप बजेटका लागि पहल गरिरहेका छौं,’ उनले भने । सानो बाङथली विद्युत आयोजनाका अध्यक्ष सानु कान्छा लामालाई बारम्बार उक्त समस्याबारे जानकारी गराउँदा उनले समेत वास्ता नगरेको वडाध्यक्ष लामा बताउँछन् ।

सानो बाङथली सामुदायिक विद्युत प्रशारण लाइन अव्यवस्थित देखिन्छ । वडाले विद्युत प्राधिकरणलाई समस्या समाधानको निम्ति पटक पटक ताकेता गर्दै आए पनि सुनुवाई भएको छैन ।

बिजुलीका अध्यक्ष लामासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन उठेन । यता, चौरीदेउराली गाउँपालिकाका प्रमुख रेणुका चौलागाईले आफूलाई यसबारे केही पनि जानकारी नभएको बताइन् ।

बिजुलीको पोलको समस्याबारे आफूलाई केही पनि थाहा नभएको उनले दाबी गरिन् । तर आफ्नो पालिकाभित्रका समस्याबारे जानकारी राख्नु प्रमुखको दायित्व रहेको स्थानीयको भनाइ छ ।

सामाजिक सञ्जालभरि सल्लाको हाँगा काटेर बिजुलीको तार टाँगेको तस्बिर छ्याप्छ्याप्ती भेटिँदा पनि प्रमुख चौलागाई आफूलाई केही थाहा नभएको बताउँदै दायित्वबाट पन्छिन खोजको उनीहरुको आरोप छ ।

जनप्रतिनिधिहरुले ध्यान नदिँदा घाँस दाउरा गर्न जाने स्थानीयले सास्ती पाएका छन् । अर्कोतर्फ जोखिम पनि उत्तिकै बढेको छ ।

टिप्पणीहरू