आचारसंहिता उल्लंघनमा उद्दत उम्मेदवार र दलहरू, विद्यालयमा समेत चुनावी पर्चा

आचारसंहिता उल्लंघनमा उद्दत उम्मेदवार र दलहरू, विद्यालयमा समेत चुनावी पर्चा

आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरु यत्तिखेर आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न व्यस्त छन् । उम्मेदवार र राजनीतिक दलहरुले पालना गर्नुपर्ने आचारसंहिता पनि तीब्र रुपमा तोडिएको छ । त्यसो त, उम्मेदवार र राजनीतिक दलहरु नै आचारसंहिता विपरितका कार्यमा संलग्न देखिएका छन् ।

काभ्रेपलाञ्चोकमा भने आचारसंहिता कार्यान्वयन गर्ने निकायमा मौखिक बाहेक हालसम्म लिखित उजुरी परेको देखिँदैन । निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक एवम् कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका प्रमुख हेमन्तराज निरौलाका अनुसार आचारसंहिता उल्लंघनबारे मौखिक उजुरी आएको छ ।

तर अहिलेसम्म लिखित उजुरी नआएको उनले जानकारी दिए । निरौलाले भने, ‘एक–दुई स्थानमा सम्बन्धित निकायबाट निर्वाचन आचारसंहिता उल्लंघनबारे मौखिक उजुरी आएको थियो, लिखित उजुरी भने आजसम्म आएको छैन ।’ उनले थपे, ‘यद्यपि मौखिक उजुरी गर्नेलाई लिखित उजुरी लिएर आउन आउन अनुरोध गर्दै पठाएका छौं ।’

आजसम्म जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र आचारसंहिता अनुगमन समितिको कार्यालयमा लिखित उजुरी दर्ता नभएको उनैले बताए । मौखिक उजुरीका आधारमा आचारसंहिताको पालना गराउन सरोकारवाला निकाय सबैलाई आग्रह गरिसकेको भने उनले सुनाए ।

उता स्थानीय क्याम्पस प्रमुख कृष्णगोपाल बैदार स्वयम् उम्मेदवारलाई जिताउने दौडधुपमा देखिन्छन् । उनी सरकारी कर्मचारी भए पनि आफू निकट पार्टीको उम्मेदवारलाई जिताउन भन्दै भोट माग्न व्यस्त देखिन्छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारलाई भोट समेत मागेको पाइन्छ ।

निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुलाई उम्मेदवारको निम्ति भोट माग्न, सामाजिक सञ्जालमा लाइक, कमेन्ट नगर्न र टिका टिप्पणी नगर्न निर्देशन दिइसकेको बताइएको छ । ‘उनी पहिले विद्यार्थी ठगी अभियोगमा केही समय फरार थिए । केही समयको अन्तरालपछि अदालतले पक्राउ आदेश जारी गरेलगत्तै अदालतमा हाजिर हुन पुगेका क्याम्पस प्रमुख बैदार अहिले धरौटीमा छुटेका हुन्,’ एक जना स्थानीयले भने ।

निर्वाचन आचारसंहिताको अनुगमन र पूर्ण पालनाका लागि निर्देशन दिने कार्य निरन्तर भइरहेको भनिए पनि जिल्लाका विभिन्न स्थानमा आचारसंहिता विपरितका गतिविधि भइरहेका छन् । उता संयोजक निरौलाले आचारसंहिता कार्यान्वयन भए नभएको जानकारी लिन आगामी बुधबारदेखि स्थलगत अनुगमनमा जाने तयारी गरिएको जानकारी दिए ।

टिप्पणीहरू