नेतालाई माला लगाएको हातले नवजात शिशुको लाश च्याप्नुपर्दा…

नेतालाई माला लगाएको हातले नवजात शिशुको लाश च्याप्नुपर्दा…

काठमाडौं उपत्यकासँगैको काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश गाउँपालिकामा अझै पनि सडक पूर्वाधारको गतिलो व्यवस्थापन हुन सकेको छैन । सडक भएपनि व्यवस्थित नहुँदा त्यहाँका सर्वसाधारणले पाएको दुःखको कुनै सीमा छैन ।

भौतिक पूर्वाधारको अभावका कारण कतिसम्म पीडा खेप्नुपर्छ भन्ने उदाहरण भुम्लु गाउँपालिकामा हालैको एउटा घटनाले देखाउँछ । वडा नम्बर १ सापिङकी संगिता माझीलाई गत भदौ ११ गते सुत्केरी व्यथाले च्याप्यो ।

उनलाई व्यथाले च्यापेपछि उनका श्रीमान कृष्ण माझीले अस्पताल पुर्याउन एम्बुलेन्स बोलाए । तर, जाँदै गरेको एम्बुलेन्स बीच बाटोमा नै फस्यो । एक घण्टासम्म एम्बुलेन्स निकाल्न नसकेपछि संगीताले बाटोमै छोरीलाई जन्म दिइन् ।

संगीता सुत्केरी त भइन् तर उनले आफ्नो छोरीलाई खेलाउनसमेत पाइनन् । स्वास्थ्यकर्मी नहुँदा उनको भर्खरै जन्मेकी छोरीको ठाउँको ठाउँ प्राणान्त भयो । वडामा एम्बुलेन्सको अभाव र जीर्ण सडकका कारण धर्तीमै टेक्न नपाउँदै आफ्नो छोरीको ज्यान गएको भन्दै पिता कृष्ण अहिले पनि भक्कानिन्छन् ।

छोरीको निम्ति थुप्रै सपना बुनेका उनको आँखा उक्त घटना सम्झिएपछि अहिले पनि रसाउन थाल्छन् । ‘आफ्नो मुटुको टुक्रालाई मृत अवस्थामा देख्दाको अवस्था म कल्पना पनि गर्न सक्दिन’, उनले भने ।

उक्त घटना सम्झेपछि एकोहोरो टोलाउँदै आफ्नो मनको पीडा पोख्न थालिहाल्छन् । ‘छोरी बाँचेकी भए अहिले खेलिरहेकी हुन्थी होली’ भन्दै भावुक हुन्छन् । जनप्रतिनिधिहरुले सडकको गुणस्तरमा ध्यान नदिँदा जन्मिन नपाउँदै एउटी शिशुले ज्यान गुमाउनुपरेको उक्त घटना प्रतिनिधिमूलक मात्रै हो ।

‘सबै बाबुआमालाई आफ्नो सन्तान मुटुको टुक्रा सरह हुन्छ । आफ्नो सन्तानको लाश हातमा लिएर बीच सडकमा उभिँदाको अवस्थाभन्दा पीडादायक कुरा अरु के हुन सक्छ ? यो दृश्य देख्दा कसको मन रुँदैन्, होला ?’ उनले प्रश्न गरे ।

उक्त विपन्न परिवारका पिताको पीडा निकै हृदयविदारक मात्र होइन्, बाबा र छोरीको पहिलो तथा अन्तिम भेट थियो । कृष्ण भन्छन्,‘मैले अस्पताल लगेर श्रीमतीको सबै चेकजाँच गराएको थिएँ । दुई पटक भिडियो एक्स–रे पनि गराएँ । चिकित्सकले सबै राम्रो छ भन्नुभएको थियो । तर अन्तिममा यस्तो भयो ।’

एम्बुलेन्स सडकमा फस्नुभन्दा केही बेरअगाडि शिशु जन्मिएको थियो । त्यो बेलामा शिशु निकै रोएको बताइन्छ । त्यसपछि पानीफोका फुटेर शिशुको नाक र मुखमा परेपछि १० मीनेट पश्चात् उनको ज्यान गएको कृष्णको भनाइ छ ।

आँशु बगाउँदै उनले भने, ‘त्यहाँ कोही अनुभवी थिएनन् । बच्चाको श्वास गएको पाँच मीनेटपछि स्वास्थ्यकर्मी पुग्नुभयो । धेरै कोशिस गरे पनि बचाउन सकिएन । राम्रो बाटो र स्वास्थ्यकर्मी छिटो आइदिएको भए शायद बच्चालाई केही हुँदैनथ्यो होला ।’

उक्त घटना सम्झिँदै कृष्णले आक्रोश पोखेका छन् । चुनावमा भोट माग्दै आएका नेताहरुप्रति कृष्णले असन्तुष्टि जनाउँदै भने, ‘हिजो स्वास्थ्य हाम्रो प्राथमिकता भन्दै भाषण गरे । बाटो बनाइदिने प्रतिबद्धता पनि जनाए । हामीले पनि विश्वास गर्दै फूलमाला लगाइदियौं । त्यही फूलमाला लगाएको हातले नवजात शिशुको मृत शरीर च्याप्नुपर्दाको पीडाको बयान गरिसाध्य छैन ।’ कृष्णले अबका दिनमा पनि यस्ता घटना नघटोस् भनेर पटकपटक वडा र गाउँपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन् ।

टिप्पणीहरू