जनप्रतिनिधि मुकदर्शक भएको काभ्रेलीको आरोप

जनप्रतिनिधि मुकदर्शक भएको काभ्रेलीको आरोप

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले गत भदौ २४ गते सूचना प्रकाशित गर्दै ३५ दिनभित्र दोलालघाट क्षेत्र आसपासका अवैधानिक तवरले बनाइएका अस्थायी संरचना हटाउन निर्देशन दिएको थियो ।

नयाँ संरचना बनाउन गाउँपालिकाले अस्थायी संरचना हटाउन स्थानीय व्यवसायीलाई ताकेता गरेको हो । उक्त ताकेता पछि भुम्लुका जनप्रतिनिधिले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जस्तै काम गर्न लागेको भनेर स्थानीयहरु मख्ख परेका थिए ।

स्थानीयले कतिपय जनप्रतिनिधिलाई स्याबासीसमेत दिए । तर, हाल आएर स्थानीयको आशा निराशामा परिणत भएको छ । अवैधानिक संरचना हटाउन सूचना जारी गरेको ५० दिन बित्न लागिसक्दा पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन ।

पालिकाले अझैपनि त्यस्ता टहरा हटाउन नसकेपछि यतिखेर भुम्लुका स्थानीयले टिकाटिप्पणी गर्न थालेका छन् । गाउँपालिकाको पारा देखेर स्थानीय आक्रोशित देखिएका छन् । जनप्रतिनिधिमाथि स्थानीयले थुप्रै आरोपसमेत लगाएका छन् ।

आफू चर्चामा आउनैको लागि सूचना निकालेको स्थानीय वृद्धिध्वज भण्डारीको आरोप छ । उनी भन्छन्, ‘कामको लागि सूचना निकालेको होइन, आफू चर्चामा आउन नौटंकी देखाएका हुन् ।’त्यस्तै, चुनाव नजिकिँदै गर्दा जनता भाँडिन्छन् भन्ने डरले टहरा नहटाएको स्थानीय राम पहरीको भनाइ छ । ‘चुनाव लाग्यो, यो बेला टहरा हटाइदियो भने जनता भाँडिन्छन् भनेर काम अघि नबढाएको होला,’ उनले भने ।

जसले जे आरोप लगाए पनि जनप्रतिनिधिहरु भने मौन देखिन्छन् । गाउँपालिकाका कसैले पनि यस विषयमा बोल्न चाहेनन् । जनप्रतिनिधिहरु चुप लाग्दा स्थानीयले अनेक अड्कलबाजी लगाउन थालेका छन् ।

टिप्पणीहरू