बाजुराका मतदाताले रिसाउँदै भने ‘भोट बैंकको रुपमा प्रयोग नगरियोस्’

बाजुराका मतदाताले रिसाउँदै भने ‘भोट बैंकको रुपमा प्रयोग नगरियोस्’

बाजुराको मार्तडीदेखि कोल्टीसम्मको सडक खण्डमा पहिरो जाँदा लामो समयसम्म यातायात सुचारु हुन सकेको छैन । करिब पाँच महिनापछि साँफे मार्तडी सडक खण्डको अमकोटको पहिरो पन्छ्याएका कारण केहि दिन अगाडि मात्र मार्तडीमा बस सेवा सञ्चालन भएको हो ।

नेताहरु चुनाव आएपछि गुलिया कुरा र आश्वासनबाट जनतालाई आकर्षित तुल्याउँछन् । तर जेठको पहिलो सातादेखि अबरुद्ध भएको मार्तडी–कोल्टी सडक खण्ड सुचारु हुन नसक्दा कोल्टीदेखि हुम्लासम्मका यात्रुहरुले पाएको सास्ती बारे कसैले चुईंक्क बोलेको सुनिएन । कसैले सडक खुलाउन गरेको प्रयास पनि देखिएन ।

स्थानीय कृष्ण राउतका अनुसार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गाँउ गाउँमा पसेका नेताहरुले सडकको यस्तो दुरावस्था देख्दा पनि नदेखेझैँ गरेका हुन् । तर, सोही बाटो हिँडेर गाउँ गाउँमा पुगेपछि झुठा आश्वासन बाँड्न र चुनावी प्रचारमा उनीहरु रमाइरहेको देखिन्छ ।

बाजुरा जिल्लाबाट पटक पटक संसदमा प्रतिनिधित्व गरेका तत्कालीन माननीयहरु कर्णबहादुर थापा, जनकराज गीरी, लालबहादुर थापा, बद्री पाण्डेलगायतले पनि कोल्टी क्षेत्रका जनताको घरदैलोमा पुगेर यसबीचमा चुनावी अभियानको पहिलो चरण सकाएका छन् । तर सडकको बारेमा उनीहरुले गाउँलेलाई आश्वासन मात्र दिएको उनी बताउँछन् ।

तस्बिरमा प्रस्ट देख्न देखिएको पहिरो मार्तडी–कोल्टी सडक खण्डको बीचमा पर्ने बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ७ मा गएको ठूलो पहिरो हो । स्थानीयहरु दुःख पोख्दै बताउँछन्, ‘सडकको अवस्था यस्तो छ कसरी दिउँ नेताहरुलाई भोट ? चुनाव आउनु अगाडि हाम्रो र गाउँको खुब प्रशंसा गर्छन् । अनेक वाचा पनि गर्छन् । तर चुनाव जितेपछी पाँच वर्ष नाकमुख देखिँदैन ।’

मार्तडी कोल्टी सडकमा वर्षायाममा पहिरो जानु स्वाभाविक हो । तर कात्तिकमा पनि सुख्खा पहिरो गएकाले सर्वसाधारण त्रसित छन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सबै मौन देखिन्छन् । तीनै तहका सरकारले कानमा तेल हालेर बसेपछि स्थानीय रिसले आगो भएका हुन् ।

बाजुरा मुलुककै सर्वाधिक पिछडिएको जिल्ला हो । पिछडिएको क्षेत्रका स्थानीयले नेताहरुलाई प्रश्नको वर्षा गर्न थालेका छन् । बाजुराका जनता अझै विकटमुक्त हुन पाएका छैनन् । जिल्लाका अधिकांश बस्तीमा साँझ परेपछि अँध्यारो छाउँछ । त्यहाँका नागरिकले पनि सुविधा सम्पन्न जीवन खोज्नु अन्याय हो ? भनेर जिज्ञासा राख्न थालेका हुन् ।

भोट माग्न आँगमा पुगेका नेताहरुप्रति स्थानीयले आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘नेतृत्व गणको ध्यान जाओस् कि हामीलाई जनताले नै जिताएका हुन् । उनकै एक मतको कारण आज हामी यो स्थानमा पुगेका छौं । पटक पटक हामीलाइ भोट बैंकको रुपमा मात्र प्रयोग नगरौं ।’

टिप्पणीहरू