हजुरबा र हजुरआमा जंगलमा झुण्डिए, नातीहरुमाथि शंका

हजुरबा र हजुरआमा जंगलमा झुण्डिए, नातीहरुमाथि शंका

बाँकेमा श्रीमान–श्रीमती नै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १३ का स्थानीय ६९ वर्षीय डम्बर बोहोरा र ६५ वर्षीय पार्वती बोहोरा नजिकैको जंगलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

गत बुधबारदेखि हराएका श्रीमान–श्रीमतीलाई गाँउलेले रुखमा झुण्डिएको अवस्थामा भेटेका हुन् । गाउँलेले तत्काल प्रहरीलाई खबर गरेपछि उनीहरुको पहिचान खुलेको हो ।

बाबुआमा नै झुण्डिएको अवस्थामा फेला परेपछि छोरीले बिलौना गरेकी छन् । उनले भनिन्, ‘मेरा बा आमालाई बोक्सी भन्दै दाजुका छोराहरुले कुटपिट गरेपछि उहाँहरुले गएर आत्महत्या गर्नुभएको हो ।’

उनका अनुसार भाउजु एक सातादेखि बिरामी थिइन् । आमा बिरामी भएकाले दाजुका छोराहरुले हजुरआमालाई नानाथरी आरोप लगाउँदै गाली गरेका थिए ‘मेरो ममीलाई बिरामी पार्दिस्’ भन्दै कात्तिक ७ गते बेलुकी उनीहरु हतियार लिएर आएको छोरीको दाबी छ ।

हजुरआमालाई मारेपछि मेरो ममीलाई निको हुन्छ भन्दै हजुरबुबा र हजुरआमालाई नातिहरुले कुटपिट गरेको उनको भनाइ छ । ‘नाति नै मार्न आएपछि उहाँहरुलाई कस्तो भयो होला ?’ उनी रुँदै भन्छिन्, ‘त्यसको भोलिपल्ट बिहान ५ बजेतिर बा आमा निस्किनुभयो । हामीले आउनुहुन्छ भनेर सोचेका थियौं तर फर्किनुभएन । खोजी गर्दा पनि नभेटिएपछि मैले प्रहरीलाई खबर गरेको थिएँ ।’

आफ्नो दाइलाई समेत बुबा आमा हराएको जानकारी गराउँदा बेवास्ता गरेको उनको आरोप छ । दाइले ‘त छोरी होस्, जे गर्नु छ गर, मेरो फुर्सद छैन’, भनेको उनले बताइन् । यता, दाइका छोराहरुले समेत आफूहरुले पिटेको स्वीकार्दै ‘पावर भए जेल हाल्नु’ भन्दै धम्काएको उनी बताउँछिन् ।

बोहोरा दम्पतीको शव पोस्र्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । आरोपित नातीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

टिप्पणीहरू