राजधानी छेउको जिल्लामा हिजै मतदान

राजधानी छेउको जिल्लामा हिजै मतदान

मत बदर घटाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले नमूना मतदान गराएको छ । धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रमा आयोजित नमूना मतदान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र सर्वसाधारणले मतदान गरेका थिए ।

४८ मत खसेको मतदान कार्यक्रमममा मतपत्र, मतपत्रमा मतदान गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र पट्याउने तरिका, मतदान केन्द्रमा प्रवेश गर्दा अपनाउनुपर्ने सुरक्षाका विषय तथा मतदान केन्द्रभित्र लैजान नहुने सामाग्री र मतदानमा भाग लिँदा मतपत्रमा उल्लेखित विषयमा ख्याल पुर्याउनु पर्ने विषयका बारेमा जानकारी गराइएको थियो ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी उमेश राईका अनुसार नमूना मतदान जिल्लाका १३ स्थानमा गराइनेछ । हिजोको मतदान अधिकृतको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार खटिएको बताइएको छ ।

निर्वाचनका लागि चार जना कर्मचारी मतपत्र दिने काममा संलग्न भएका थिए । ती कर्मचारीले मतपत्र दिने, नाम रुजु गर्ने, नङमा मसी लगाउनेलगायत कार्य गरेका थिए ।

सुरक्षाकर्मी, दलका प्रतिनिधि, मानवअधिकार र सञ्चारकर्मीको टोली तथा जिल्ला अनुगमनको टोलीले नमूना मतदानको अनुमगन गरेको थियो । मतपत्र र मतदानका बारेमा जानकारी गराउन जिल्लामा १ सय ३५ वडामा महिला स्वास्थ्य स्वंयसेविकाको टोली परिचालन गरिएको छ । एउटा वडामा एक जनाले स्थानीय सरकारको समन्वयमा मतदाता शिक्षा दिनेछन् ।

चारवटा मतपत्र र चारपटक मतदान गर्नु पर्ने भएकाले केही मतदाताहरु झुक्किएका थिए । मतदानपछि जुन बाकसमा खसाल्नु पर्ने हो त्यसमा नखसाली अन्यत्र खसाल्न सक्ने भएकाले त्यसको तयारी तथा मतदान सकिएलगत्तै मतपेटिकाको सुरक्षा र व्यस्थापनमा ध्यान दिनुपर्ने विषयमा पनि जानकारी गराइएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा सीटका लागि तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् ।

टिप्पणीहरू