भाषण गर्ने नेता हेलिकप्टरमा, बिरामी मतदाता डोकोमा

भाषण गर्ने नेता हेलिकप्टरमा, बिरामी मतदाता डोकोमा

भन्ने गरिन्छ, भोट माग्ने बेलामा नेताहरुले जनताको पाउ पनि छुन्छन् । आगामी मंसिर ४ गतेको चुनाव नजिकिँदा सामाजिक सञ्जालमा नेताहरुको भोट माग्ने अचम्मका तरिका पनि देखिएको छ ।

कसैले गोडा समातेका छन्, कोही लम्पसार नै परेका छन् भने कसैले खेतमा गएर कृषि कर्ममा सहयोग गरेको नाटक हेर्न पाइएको छ । तर, यो दृश्य आगामी मंसिर ४ गते साँझ ५ बजेपछि कम्तीमा ५ वर्षको लागि बन्द हुनेछ । अर्कोतर्फ दुर्गमका गरिब जनता सिटामोल अभावमा छटपटाउँदा पनि उनीहरुको कानमा बतास लाग्दैन ।

यस्तै दुःख बझाङ जिल्लाको मष्टा गाउँपालिकाका जनताले मात्र भोगेको होइन,अन्यत्र पनि हालत उस्तै छ । विशेषगरी मष्टाको बाटोघाटो गतिलो छैन । यातायातको सहज व्यवस्था नहुँदा,बाटो राम्रो नहुँदा स्वास्थ चौकीसम्म बिरामीलाई पुर्याउन डोको नै प्रख्यात सवारी साधन बनेको छ । मष्टा गाउँपालिकाका विकास धामीले पछिल्लो उदाहरण दिँदै भने,‘गाउँपालिकाको वडा नम्बर ३ ढंडारका ७३ वर्षीय जोगगिरी धामीलाई उपचारको लागि डोकोमा बोकेर सदरमुकाम चैनपुर पुर्याइएको छ ।’

भरिया बनेर चैनपुर पुगेका आफन्त वीरबहादुर धामीले भने, ‘के गर्नु, गाडीमा हालेर ल्याउँ भने सडक राम्रो छैन । गाउँघरमा स्टेचर पनि छैन । उपचार गराउनै पर्यो ।’ बोकेर उपचार गर्न ल्याएको र उपचारपछि त्यसैगरी बोकेर घर लगेको उनले बताए । सवारी साधनको सुविधा नभएको, बाटो राम्रो नभएकाले बूढाखाडालाई हिँडाएर लैजान सकिने अवस्था छैन । घरमै राख्दा ज्यानको जोखिम पनि उत्तिकै भएको उनको बुझाइ छ ।

यता, चुनावमा भोट माग्न महँगा गाडी र हेलिकप्टरमा सदरमुकाम पुगेका नेतासँग तुलना गर्दै उनले भने, ‘बिरामी बोक्दाको नाम्लोको डाम भरियाको तालुमा छ । तर विकासप्रेमी नेता मै हुँ भन्नेलाई उनको डाम र स्थानीय पूर्वाधारले गिज्याइरहेको छ ।’

यसबारे मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले वडा नम्बर ५ बाहेक सबै वडामा आइतबार मात्रै सडक सफा गरेर बाटो खोल्ने काम भएको बताए । स्वास्थ्य चौकीमा स्ट्रेचर भए पनि मागेर स्वास्थ्य संस्थामा बिरामी बोकेर ल्याउने प्रवृत्तिको विकास नभएकाले डोकोमा बिरामी बोकेर ल्याएको हुन सक्ने उनको भनाइ छ ।

तर बिरामीका परिवारले भने अध्यक्षको भनाइसँग असहमति जनाएका छन् । उनीहरुले भने, ‘विकल्प नभएर डोकोमा बिरामी ल्याउनुपरेको हो । जनप्रतिनिधिले दिउँसै रात पार्नेगरि झुठो बोलेपछि हाम्रो के लाग्छ !’

टिप्पणीहरू