नमोबुद्ध मेलामा भक्तजनको भीड

नमोबुद्ध मेलामा भक्तजनको भीड

काभ्रेपलाञ्चोको नमोबुद्धमा कार्तिक पूर्णिमाका दिन लाग्ने ऐतिहासिक जात्रा सुरु भएको छ । विशेषगरी नमोबुद्ध नगरपालिका १ र ११ स्थित नमोबुद्धलाई ऐतिहासिक एवम् धार्मिकस्थलको रुपमा लिइन्छ । सो क्षेत्रमा हरेक वर्षको कार्तिक पूर्णिमाको दिन मेला लाग्ने गर्छ ।

मेलामा दर्शनार्थीहरुको भीडसँगै जम्मा भएका भक्तजनदे शान्तिको निम्ति दीप प्रज्वलन गरेका छन् । हजारौं दीपले नमोबुद्ध क्षेत्रलाई नै मनमोहक र सुगन्धित बनाउने गरेको छ । नमोवुद्धको धार्मिक कथनबारे ध्यान गुठीका अध्यक्ष लोप्साङ बज्र लामा भन्छन् :

‘तत्कालीन शारदा बतासे गाविसस्थित इटेका महाराजा महादीपका तीन छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोबुद्ध भन्ने ठाउँमा पुगे । त्यहाँ प्रश्रव वेदनाले छटपटाएकी बघिनी र ५ डमरुको मरणासन्न अवस्था देखिपछि राजकुमार महासत्वको मनमा दयाको भाव पलाई दाजुहरुसँग बघिनीलाई बचाउन सक्ने उपाय सोधनी भयो । उनले बघिनीलाई बचाउन आफ्नो शरीर दान गरे ।

आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोबुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्बा निर्माण गराएको बताइन्छ । आफ्नो शरीर बघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडि लुम्बिनीमा उनै राजकुमार महासत्वले मायादेवीको कोखबाट भगवान गौतम बुद्धको रुपमा जन्म लिएको र आफू जन्मेपछि बुद्धले नमोबुद्धमा आएर सोही अस्तु भएको ठाउँमा पूजाआजा गरेको धार्मिक विश्वास छ ।’

कुतुङटासी छोलिङ गुम्बाका साथै हजारौं माने र कलात्मक बुद्ध मूर्तिका सुन्दरताले भरिपूर्ण पर्यटकीय क्षेत्रको रुपमा परिचित नमोबुद्धमा कात्तिक पूर्णिमाको साथै चैत्र पूर्णिमा र साउन महिनाको प्रत्येक बुधबार ठूलो मेला लाग्छ । मेलामा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बीहरु समेत आउने भक्तजन कुशल लामाले जानकारी दिए ।

एक पटक पुग्दा पनि सयौं वर्षको पाप मोचन हुने, आँटेको पुग्ने थलोको रुपमा परिचित नमोबुद्धमा गत बुधबार बौद्ध धर्मावलम्बीहरुले रातभर जाग्राम बसेर पुर्खाहरुको सम्झनामा दीप प्रज्वलन गरेका थिए।

टिप्पणीहरू