बाघले दर्जनौं चौपाया मारेपछि स्थानीय त्रासमा, सँगसँगै क्षतिपूर्तिको आश

बाघले दर्जनौं चौपाया मारेपछि स्थानीय त्रासमा, सँगसँगै क्षतिपूर्तिको आश

मकवानपुरमा पछिल्लो दुई हप्तादेखि बाघको आतंक छ । विशेषगरी हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा स्थानीयको पशुचौपायामाथि आतंक मच्चाएको हो ।

वन कार्यालयकाअनुसार पछिल्ला दुई हप्तामा बाघले आठ बाख्रासहित एउटा बाच्छो मारेको छ । गत कार्तिक १३ गते आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरवडाँडा एक–एक वटा खसी र बाच्छो मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खसीबाख्रा मारेको हो ।

‘यति ठूलो संख्यामा क्षति पहिलो पटक भएको हो । क्षतिपूर्तिको लागि जिल्ला वन कार्यालयमा निवेदन गरेको छु,’ मकवानपुरगढी गाउँपालिका ६ का वडाध्यक्ष कृष्ण बजागाईंले भने ।

बाघले धमाधम गाई बाख्रा मार्न थालेपछि मकवानवपुरका स्थानीय अहिले त्रसित बनेका हुन् । बाघका कारण अहिले स्थानीयहरु हिँडडुल गर्न, घरायसी काम गर्न र दाउरा, घाँस, सोत्तरलगायतका काम गर्न समेत डराएर हिँड्नुपरेको स्थानीय गोपाल पराजुली  बताउँछन् ।

बाघको संख्यामा वृद्धि भएको, आहारा र उपयुक्त बासस्थानको अभावमा बिच्किएर गाउँ पसेको विज्ञहरु बताउँछन् । आहाराको लागि पशुचौपाया ताक्ने बाघले अरु नपाएपछि मानिसलाई पनि छाड्दैन् ।
 

एउटा बाघ र चितुवा देखियो

केही समय अगाडि भैरवडाँडामा बाघले बाख्रा मार्यो भन्दै स्थानीयले प्रशासनलाई जानकारी गराएका थिए । डिभिजन वन कार्यालय, राप्तीको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चार वटा सिसिटिभी क्यामरा जडान गरेको हो ।

त्यसको केही दिनपछि बाघसँगै चितुवाको पनि फुटेज प्राप्त भएको डिभिजन वन कार्यालय राप्तीले जानकारी दियो । सिसिटिभी कार्याल्यका अनुसार फुटेजमा एउटा बाघ र एउटा चितुवा देखिएको हो ।

धमाधम पशुचौपाय मारेर खाएको बाघले मान्छेलाई पनि आक्रमण गर्छ कि ? भन्ने प्रश्नमा डिभिजन वन कार्यालय राप्तीका सहायक अधिकृत विष्णुप्रसाद आचार्यले भने, ‘मान्छेलाई आक्रमण गर्ने सम्भावना तुलनात्मक रुपमा कम हुन्छ । बाघले पशुचौपाया खान नपाएपछि मात्रै मान्छेलाई आक्रमण गर्ने हो, कुकुरलाई पनि आक्रमण गरेको देखिएन । त्यस कारण पहिले नै मान्छेलाई आक्रमण गरिहाल्छ भन्न सकिँदैन ।’
 

बाघ नियन्त्रणमा कठिनाई

बाघले आतंक मच्चाएको दुई हप्ताभन्दा बढी भइसकेको छ । तर, अझै पनि नियन्त्रणमा लिन सकिएको छैन । राष्ट्रिय प्रकृति संरक्षण कोषको समन्वयमा डिभिजन वन कार्यालय राप्तीले पर्सा वन्यजन्तु आरक्षण र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक ल्याए पनि नियन्त्रणमा लिन नसकेको हो ।

बाघलाई नियन्त्रणमा लिन बार्दिया राष्ट्रिय निकुञ्जबाट दक्ष प्राविधिक झिकाउन पहल  भएको बताइन्छ । बाघ निगरानीको लागि भैरवडाँडा चार र मकवानपुरगढीमा दुई वटा क्यामरा समेत जडान गरिएको वन कार्यालयका अधिकृत आचार्यले जानकारी दिए ।
 

चुनावका कारण विवरण संकलनमा समस्या

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले गर्दा जिल्ला वनले कार्यालयले क्षतिको मूल्याङ्कन नगर्दा क्षतिपूर्तिको प्रक्रिया समेत अवरुद्ध भएको छ । 

जिल्ला वन कार्यालय मकवानपुरका सूचना अधिकारी दिपक अधिकारीका अनुसार कर्मचारी निर्वाचनमा खटिएको कारण क्षतिको विवरण संकलन हुन सकेको छैन । स्थानीय भने एकातिर त्रास, अर्कोतिर क्षेतिपूर्तिको आशमा बसेको बताउँछन् ।
 

टिप्पणीहरू