क्रिश्चियन, एन्टी कम्युनिष्ट र रविका म्यानपावर कनेक्सन

क्रिश्चियन, एन्टी कम्युनिष्ट र रविका म्यानपावर कनेक्सन

राजनीतिमा रवि लामिछानेहरुको सन्देहपूर्ण उदय र त्यसमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको साइनोका प्रश्नहरु अहिले जोडसँग उठेको छ । ती कुरालाई पुष्टि गर्ने केही आधार पनि छन् ।

सबैभन्दा पहिला गगनले रविलाई शेरबहादुर देउवासँग भेटाए, बालुवाटारमा । त्यसबेला रविले पार्टी घोषणा गरिसकेका थिएनन् । तर, चुनावमा उठ्ने मनस्थिति भने बनाएका थिए । गगनले रविको ‘क्रेज’ चाल पाएर कांग्रेसबाट उठाउनुपर्छ भनेका थिए । काठमाडौंको क्षेत्र छोडिदिने र आफू सर्लाही जाने मनस्थितिसहित उनी देउवाकहाँ रविलाई लिएर पुगेका हुन् । तर, देउवाले रविलाई खासै ‘भाऊ’ दिनुभएन । उनले पार्टी खोले । गगनले बुझे, त्यसले सबैलाई अप्ठेरो पार्दा आफू पनि पर्ने भइयो । यसपछि भित्रभित्रै रविसँग चुनावी साँठगाँठ गर्दै अगाडि बढे । उम्मेदवारीसम्ममा गगन त्यहाँ हावी भए । कतिपय प्रत्यक्ष त कतिपय समानुपातिकमा गगनका खास मान्छेहरु उठेका छन् ।

प्रश्न छ, काठमाडौंमा कतै पनि उम्मेदवारी दिन बाँकी नराखेको घण्टीले त्यही क्षेत्र नं. ४ नै किन छोड्यो होला ? चितवन– २ मा ‘घण्टी’ का कारण समस्या पर्ने भएपछि राज्यमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले गगन थापालाई आफ्नो क्षेत्रमा आएर २० मीनेटमात्रै भाषण गरिदिन अनुरोध गरे । हेलिकोप्टरमा आउने–जाने व्यवस्था गरिदिन्छुसम्म भनेका थिए । यसो भन्दै १३ पटक फोन गरे, तैपनि गगन चितवन गएनन् । बरु, काठमाडौं–१ मा प्रकाशमान सिंह खतरामा पर्ने भएपछि पुकार बमलाई निश्क्रिय बनाउन भूमिका खेले । शेखर कोइरालालाई मोरङ– ६ मा अप्ठेरो पर्ने भएपछि यादवकुमार प्रधानलाई पछाडि हटाए । तर, उमेश श्रेष्ठ उठेको ठाउँमा भाषण गर्न गएनन् । भनिन्छ, रविका उम्मेदवार भएको ठाउँमा गगन र गगनका उम्मेदवार भएका ठाउँमा रविले ‘डिस्टर्ब’ नगर्ने पूर्वसहमति थियो । 

एमालेको आरोपै छ, रवि अमेरिकी सहायता परियोजना एमसिसीको परिचालक तत्वभित्र पर्छन् । अमेरिकाबाट नेपाल आउँदैमा उनी यस्तै योजनाका साथ आएको भन्ने गरिन्छ । अहिले पनि अमेरिकी जासुस सञ्जाल सिआइएले गहिरो अध्ययन गरेपछि स्वतन्त्र नाममा पार्टी गठन गराउने र उम्मेदवार उठाउनेजस्ता काम गरेको बारे च्यासल पार्टी कार्यालयमा एमाले नेताहरु डा. भिष्म अधिकारी, डा. राजन भट्टराई र विष्णु रिमालहरु चर्चा गर्छन् । तर, यति गर्दा पनि उनीहरुले सोचेजस्तो सीट आएन । यद्यपि, अब रवि गगनभन्दा ठूलो नेता हुने नै भए । उनी संसदको चौथो ठूलो दलबाट संसदीय दलको नेता बन्दैछन् । यो स्थितिमा उस्तै परे गगनले रविको पार्टी फुटाइदिने सम्भावना रहन्छ ।

त्यहाँका सोविता गौतम, डा.तोसिमा कार्की, शिशिर खनालजस्ता मानिसहरु रविसँग टिक्ने पात्र नै हैनन्, न चरित्र, न पृष्ठभूमि, न त कार्यशैलीकै हिसाबले उनीहरु रविसँग रहन सक्छन् । त्यसमाथि नागरिकता विवादमा रविको स्थिति आफैँमा नाजुक छ । रविमात्रै नाजुक अवस्थामा छैनन्, त्यसमै टेकेर पार्टीमाथि प्रहार हुने खतरा छ । ०७७ फागुन २७ मा नेकपाको नामका विषयमा परेको मुद्दाको फैसालमा झैँ सर्वोच्च अदालतले दल खारेज गर्ने र सांसदहरुलाई रुचाएको दलमा सनाखतको मौका दिने खतरा पनि आउनसक्छ ।
 

टिप्पणीहरू