क्याबिनेट बैठक अहिले ११ बजे,सचिवहरु सरुवाको सम्भावना

क्याबिनेट बैठक अहिले ११ बजे,सचिवहरु सरुवाको सम्भावना

मन्त्रिपरिषद बैठक आजलाई राखिएको छ । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ । आजको बैठकले केही सचिव सरुवा गर्ने सम्भावना रहेको स्रोतले बतायो । ‘सम्भवतः आज केही सचिवको सरुवा हुुन्छ होला । आजको बैठकको एउटा एजेण्डा त्यो पनि भएको अनुमान छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो ।

विशेषगरी अर्थ मन्त्रालयमा लैजाने सचिवको बारेमा टुंगो लाग्ने भएकाले केही दिनदेखि सचिवहरुको दौडधुप थियो । जनार्दन शर्माको शुरुवाती कालमै  बसेकाले सचिव मधु मरासिनीको प्रयास धेरै भएको बताइन्छ । गत जेठमा अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर बजेटमा करको दर हेरफेर गराएको आरोप लागेपछि उत्पन्न सिसिटिभी फुटेज काण्डमा देउवा र शर्मालाई साथ नदिएवापत मरासिनीलाई त्यहाँबाट झिकेर प्रधानमन्त्री कार्यालयमा लगिएको थियो । मन्त्री शर्मा केही साता जिम्मेवारीबाट बाहिर रहेर पुनः मन्त्रालय फर्कने भएपछि उनले सरुवा मागेका थिए । 

त्यसो त मरासिनीलाई मामा ससुुराले महत्वपूर्ण जिम्मेवारी दिन बल दिने गरेको आरोप लाग्ने गरेको छ । उनका नातेदार तथा माओवादी अर्थशास्त्री श्रीराम पौडेलले माओवादी सत्तामा आएको बखत भान्जालाई आकर्षक पद र जिम्मेवारी दिलाउन पहल गर्नु अस्वाभाविक पनि हुन्न । पौडेल नेपाल राष्ट्र बैंकमा  लामो समयसम्म सञ्चालक थिए । 

अहिले अर्थमा सञ्चार मन्त्रालयमा रहेका बैकुण्ठ अर्याललाई लैजाने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । तर अर्याल नेताको दैलो धाउनेमध्येमा पर्दैनन् । काठमाडौंका स्थायी बासिन्दा उनको सेवा अवधि एक वर्षभन्दा कम भएको बताइन्छ ।

अस्ति प्रधानमन्त्री दाहालले बोलाउनुभएको सचिवहरुको बैठकमा अर्थसचिव कृष्णहरि पुष्करले व्यक्त गरेका धारणाले पनि अर्थ सचिव फेरिने सम्भावना बढाएको एक जना सचिवको बुझाइ छ । पुष्करले आफ्नो मन्त्रालयमा नयाँ सरकार गठनपछि पुराना सचिवहरुको हस्तक्षेप  बढेको गुनासो गरेका छन् । 

उनले अनौपचारिक कुराकानीमा अघोषित राज्यमन्त्री (पुराना सचिव) हरुले अर्थ मन्त्रालय चलाउन खोजेको भनेर सहकर्मी सचिवहरुसँग असन्तुष्टि पोखेका थिए ।

टिप्पणीहरू