सल्लाहकार बनाउन सल्लाह सँकलन

सल्लाहकार बनाउन सल्लाह सँकलन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको आज ११ दिन पुगेको छ । यसबीच उहाँलाई विभागीय प्रमुख र मातहत कार्यालय तथा निकायले मुलुकको पछिल्लो आर्थिक अवस्था,राजस्व संकलन र वित्तीय तथा आर्थिक क्षेत्रका समस्याबारे जानकारी गराएका छन् । 

सँगसँगै मन्त्री पौडेलले सल्लाहकार टोली गठनको निम्ति पहल थाल्नुभएको छ । सोही क्रममा उहाँले अस्ति केही पुराना सचिव,मन्त्री र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका विज्ञहरुलाई बोलाएर मन्त्रालयमा छलफल गर्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको कारण चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जटिलता आएको खबर बाहिरिएसँगै उहाँले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सोही जटिलता चिरेर आर्थिक क्षेत्रलाई चलायमान बनाउन गतिले सल्लाहकार टिम बनाउन  खोज्नुभएको निकट स्रोतले बताएको छ । 

अस्तिको सामूहिक छलफलमा पूर्वमन्त्री डा. युवराज खतिवडा, योजना आयोगका पूर्वउपाध्यक्ष डा.पुष्पराज कँडेल र पूर्वअर्थ सचिव शिशिर ढुंगाना सहभागी हुनुहुन्थ्यो । त्यसपछि मन्त्रालयमै उहाँले भूतपूर्व अर्थ सचिव रामेश्वर खनाललाई पनि छुट्टै भेट्नुभयो । 

हालसम्म मन्त्रीको सल्लाहकार टोली नबनाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । ‘सरसल्लाह जारी छ । पहिलेका अर्थ सचिव ढुंगाना,पूर्वराजश्व सचिव रामशरण पुडासैनी, सहसचिव केदार पनेरुलगायतसँग नियमित भेट भइरहेको छ,’ स्रोतले भन्यो ।

टिप्पणीहरू