पूर्वराजासँग रविन्द्र मिश्रको डेढ घण्टा भलाकुसारी

पूर्वराजासँग रविन्द्र मिश्रको डेढ घण्टा भलाकुसारी

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । उनले शाहसँग ‘१५ वर्षपछिको प्रेमपूर्ण भेट !’ भन्दै सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

उनले तत्कालीन राजासँग गरेको सहमतिलाई राजनीतिक दलहरुले उल्लंघन गरेको उल्लेख गरेका छन् । २०६३ साल बैशाख ४ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठकले राजासँग भएको समझदारी अनुरूप राजसंस्थालाई निरन्तरता दिने दाबी गरेका छन् । सोही सहमतिबमोजिम जेठी छोरी पनि गद्दीको उत्तराधिकारी हुनसक्ने भनीगरिएको निर्णयको विपरित गएर र चुनाव हारेर ‘जनप्रतिनिधि नै नरहेका’ काँग्रेसका कृष्णप्रसाद सिटौलालाई संविधानसभामा गणतन्त्रको प्रस्ताव फ्लोर गर्न दिएर गम्भीर उल्लंघन गरिएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘राजाबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन । संसारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा छँदा पनि छैनन् । परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखि फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्व बोकेका संस्था राख्ने या हटाउने निर्णय गर्छन् ।’

तर नेपालमा राजनीतिक दलका नेताले स्वार्थकेन्द्रीत र अपरिपक्व कार्य गरेको उनले आरोप लगाएका छन् । नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँधिएको उनको ठहर छ । देशको दूरगामी हित÷अहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिएको क्षणलाई उनले उक्त ठहरसँग जोडेका छन् । उनले लेखेका छन्, ‘त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर ।’

संसद पुनस्र्थापना मार्फत आफ्नो गल्ती सच्याइसकेका राजालाई षडयन्त्र गरेर र विदेशीको प्रभावमा परेर हटाइएको मिश्रको भनाइ छ । ढाँटेर/छलेर गद्दिच्यूत गरिएपछि दर्जनाैँ स्वदेशी र विदेशी राजा जन्मिएको उनको आरोप छ । उनले वामपन्थी दलहरुप्रति लक्षित गर्दै भनेका छन्, ‘पृथ्वीनारायण शाहलाई सरापेर माक्र्स र माओलाई माला लाउन थाले ।’

उनका अनुसार मुलुक अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको छ । नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेनाबाहेक राजनीतिले धेरै गिजोलिएका र लगभग पूर्णतः क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे राजनीतिक दलका नेताहरुलाई कुनै मतलब नभएको मिश्रले पूर्वराजा सँगको भेटपछि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन । ढिलो भइसकेको हुनेछ ।’

टिप्पणीहरू