अर्काको हलतिर रविको आँखा

अर्काको हलतिर रविको आँखा

सिंहदरबारमा नयाँ राजनीतिक दलहरूको प्रवेशसँगै कुर्सी–टेबुलको झमेला शुरु भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको कार्यालय ठूलो चाहियो भन्दै संसद सचिवालयका हाकिमहरूसँग किचकिच गरेको छ ।

सर्भिस सेन्टरमा रहेको जसपा संसदीय दलको कार्यालयतिर आँखा लगाउँदै उक्त पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नो कार्यालय साँघुरो भएको गुनासो पोखेपछि कर्मचारीहरूले जवाफ दिए, ‘फराकिलो ठाउँ, भनेजस्तो अफिस चाहिए बाहिर पार्टी अफिस लिनुपर्छ, यहाँ त यस्तै हो...!’ मुकुलले आफूहरू २० सीटको पार्टी भन्दै त्योभन्दा कम सीट भएका जसपा, एकीकृत समाजवादीलाई बढी क्षेत्रफलको कार्यालय दिइएको बताएका थिए । जबकि, एकीकृत समाजवादीसँग राष्ट्रियसभाका ११ सांसद जोड्दा कूल संख्या २१ हुन्छ ।

यही कुरा संसद सचिवालयका कर्मचारीले उनलाई भनेपछि जसपाको हल, राउण्ड टेबुलसहितको कार्यालयतिर आँखा लगाए । ‘को आएको, को गएको सबै देखिन्छ । के बोल्यो, कसरी बोल्यो– त्यो पनि सुनिन्छ’ भन्दै मुकुलले दिइएको दलको कार्यालयप्रति आपत्ति जनाए । अनि, कर्मचारीहरूको जवाफ पनि पाए, ‘सिंहदरबारमा जताततै सिसिटिभी जडान गरिएको छ, आएको–गएको सबैको देखिन्छ ।

तपाईंलाई भनेजस्तो अफिस चाहिन्छ भने बाहिर पार्टी अफिस खोल्नुस्, यहाँ त दिने यतिमात्रै हो ।’ यसो भनेपछि दिइएकै कार्यालयमा टेबुल र ¥याक थपेर त्यहीँ संसदीय दलको कार्यालय राख्न उनी राजी भएका छन् । शुरुमा उक्त पार्टीलाई गृह मन्त्रालयको पुरानो भवन दिइएको थियो । तर, ‘टाढा भयो’ भन्दै लिन मानेनन् । दुई वर्षपछि संसदको नयाँ भवन सञ्चालनमा आउँदैछ । अहिले दिइएको कार्यालयबाट त्यहाँ सर्न नजिक पर्छ भनेपछि रास्वपाले दिइएकै कार्यालयमा चित्त बुझाएको छ । त्यहाँ रास्वपासहित राप्रपा, उन्मुक्ति, जनमत र स्वतन्त्र सांसदहरूका कार्यालय छन् ।

‘खासमा राजनीतिक दलहरूलाई संसदीय दलको कार्यालय दिने काम मुख्यसचिव नेतृत्वको सिंहदरबार पुनःनिर्माण समितिको हो । संसद सचिवालयले त व्यवस्थापन गर्ने मात्रै हो’, कर्मचारीहरूले यति भनेपछि मुकुलले चित्त बुझाएका थिए । सिंहदरबारको उत्तरतर्फ बन्दै गरेको नयाँ संसद भवनभित्र दलको कार्यालयमात्रै हैन, प्रत्येक सांसदलाई एक–एकवटा कोठा दिइने भएको छ ।
 

टिप्पणीहरू