गोरखामा ‘लोकल रक्सी’ माथि कडाइ

गोरखामा ‘लोकल रक्सी’ माथि कडाइ

गोरखाको शहिद लखन गाउँपालिकाले घरेलु मदिरा उत्पादन, बिक्री वितरण तथा ओसारपसारमा कडाइ गर्ने भएको छ । गाउँपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन सम्बन्धी ऐन पारित गर्दै वडा कार्यालयको अनुमति बिना रक्सी उत्पादन गर्न नपाइने नियम बनाएको छ । 

घरेलु मदिरालाई नियन्त्रण र व्यवस्थापन गर्न उक्त नियम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । यसका लागि वडास्तरीय मदिरा व्यवस्थापन समितिसमेत गठन गरिएको उनको भनाइ छ । 

स्थानीयले कुन प्रयोजनका लागि कति परिमाणमा मदिरा आवश्यक भएको भन्नेबारे विवरण उक्त समितिमा बुझाउनुपर्नेछ व्यवस्था गरिएको छ । तोकिएको प्रयोजनका लागि मात्र रक्सी उत्पादन गर्न पाइने र प्रयोजनविपरीत प्रयोग गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए । ‘यो नियम २०७७ सालमा बनाइएको थियो तर कार्यान्वयनमा आएको थिएन’, उनले भने, ‘अहिले हामीले यसलाई थप परिमार्जन गरेर लागु गर्न लागेका हौं ।’

गाउँपालिकाभित्र विभिन्न समुदायको बसोबास रहेको उल्लेख गर्दै उनले मदिरालाई व्यवस्थित पार्न खोजिएको सुनाए । गाउँपालिकाको निर्णय कार्यान्वयन भए–नभएको हेर्न वडा र टोलसुधार समिति खडा गरिएको छ । अटेर गर्नेलाई कारबाहीको चेतावनी दिइएको छ । घरेलु रक्सी बेचबिखन गर्नेलाई पहिलो पटक दुई हजार रुपैयाँ र त्यसलाई अटेर गरे प्रत्येक पटक एक हजारका दरले जरिवाना रकम बढाउँदै जाने गाउँपालिकाले बताएको छ । 

त्यस्तै, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने, शान्ति भंग गर्ने, गाली बेइज्जती गर्नेलाई तीन हजार रुपैयाँ जरिवाना गरिनेछ । सार्वजनिक पद धारणा गरेका व्यक्तिले मदिरा सेवन गरेमा चार हजार रुपैयाँ तिर्नुपर्नेछ । जरिवानाबाट उठेको रकमले स्थानीय तवरमा खर्च गर्न आवश्यक कोष खडा गरिने गाउँपालिकाले जनाएको छ ।

टिप्पणीहरू