प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, इतिहासकै सर्वाधिक

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, इतिहासकै सर्वाधिक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि उहाँले संसदमा राख्नुभएको प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी समर्थन जुटेको छ । 

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नुभएको हो । सो प्रस्तावमाथि मतदान हुँदा उहाँको पक्षमा २६८ मत परेको छ । मतदानमा २७० जना सांसद सहभागी भएकोमा दुई मतमात्र प्रस्तावको विपक्षमा परेको हो । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डलाई प्रतिनिधिसभाका दुई ठूला दल काँग्रेस र एमालेसहित अधिकांश दलले मत दिएका हुन् । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसदले मात्रै प्रस्तावको विपक्षमा मत दिए । 

प्रधानमन्त्री प्रचण्डले पाएको मत नेपालको संसदीय इतिहासमै सर्वाधिक मानिएको छ । अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव राख्दा ९९ प्रतिशत सांसदले समर्थन गरेको इतिहास छैन ।

टिप्पणीहरू