यताका यात्रु त झन् ठहरै भए नि हजुर !

यताका यात्रु त झन् ठहरै भए नि हजुर !

जहाँ र जहिले पनि ङ्याकिने त सर्वसाधारण नै रहेछन् । कुनै पनि उपभोग्य वस्तु तथा सेवाको भाउ बढ्दा सबैभन्दा तल च्यापिने र बेसरी गर्धन अँठिने भनेकै आम उपभोक्ता वर्गको रहेछ ¤ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ अलिकति बढाउँदा यातायात व्यवसायीहरुले अझ बढी नाफा निकाल्ने हिसाबले गाडी भाडा बढाइहाल्छन् तर डिजल, पेट्रोलको भाउ घट्दा भाडा घटाउनचाहिँ तयार हुँदैनन् । सधैं ठहरै पर्ने त विचरा यात्रु नै भए ।

चौबीसै घन्टा गाडी गुडिरहने सुगम सडकमा सार्वजनिक यातायात चढेर १०÷१२ किलोमिटर यात्रा गर्नुपर्दा कतिचाहिँ भाडा तिर्नुपर्ला ? बढीमा ३०/३५ रुपैयाँसम्म त ठिकै हुन्थ्यो । तर चितवनको राष्ट्रिय राजमार्गमै यात्रुहरुलाई गाडीभाडामा साह्रै नै अँचेटिएको छ । टाँडीबाट नारायणगढ पुलचोकसम्मको दूरी भनेको ११/१२ किलोमिटर नै हो । त्यतिका लागि सार्वजनिक सवारीसाधनमा ७५ रुपैयाँ भाडा तिरेर यात्रा गर्नुपर्दा यात्रुहरु कतिसम्म खुत्रुक्क भएका होलान् ? 

भरतपुरको केन्द्रीय बसपार्कलाई व्यवस्थित गर्न अहिले पूर्वीचितवन जाने–आउने गाडीलाई समेत नारायणगढतिर जान दिइएको छैन । छोटोदूरीका यात्रुवाहक सवारी साधनहरुलाई पनि बसपार्कबाटै सञ्चालन हुने व्यवस्था मिलाइएको छ । पूर्वीचितवनको रुटमा मिनिबस र ११ नं. का म्याजिक चल्छन् । यसअघि उनीहरु नारायणगढको लायन्सचोकबाटै लोथरसम्म आउजाउ गर्थे । त्यतिबेला पनि टाँडीदेखि लायन्सचोकसम्म ५० रुपैयाँ भाडा त अलि बढी नै थियो । विगत एक महिनाअघिदेखि भरतपुर बसपार्कमै रोकिएपनि, त्यहाँबाट नारायणगढ आउँदा–जाँदाको इन्धन जोगिएपनि यातायात व्यवसायीहरुले उही नारायणगढसम्मकै भाडादर असुल्न नछाडेका हुन् । अचेल सार्वजनिक सवारी साधनमा टाँडीबाट नारायणगढ आउजाउ गर्न एकफेरमा बसपार्कसम्म ५० रुपैयाँ र बसपार्कबाट नारायणगढसम्म पुग्न अर्काे गाडीलाई थप २५ रुपैयाँ तिर्नुपर्दा यात्रुजन औधि मर्कामा छन् । सबैजसो यात्रुहरुले हरेक गाडीलाई भाडा घटाउन बारम्बार आग्रह अनि झगडा नै गर्दा पनि यातायातकर्मीहरुले अटेरी गर्दै आएका छन् ।

 

टाँडी, पर्सातिरबाट नारायणगढतर्फ जागिर–व्यवसाय गर्ने र पढ्ने विद्यार्थीहरु दिनहुँ आउजाउ गर्नुपर्छ । नारायणगढबाट उता पनि दिनदिनै जानेछन् । खास काम पर्दा मात्रै हिँडनेहरुको पनि हरेक दिन बाक्लै आवतजावत भइरहन्छ । प्रत्येक म्याजिक र मिनिबस ३/४ मिनेटमै छुटिरहेका हुन्छन् । यात्रु र सवारी साधन एकछिन खालि नहुने यस्तो सजिलो सडकमा पनि यात्रुहरु गाडीभाडामा प्याकप्याक हुनुपर्ने ? सवारीसाधन प्याक हुनेगरी सिट क्षमताभन्दा बढी यात्रु पनि ओसारिएकै छ ।

नारायणगढ पुलचोकदेखि लोथरसम्मको दूरी ३६ कि.मि. छ । लोथरदेखि नारायणगढसम्म पहिले पनि ११० रुपैयाँ भाडा लिँदै आएका यातायात व्यवसायीहरुले अहिले केन्द्रीय बसपार्कसम्म मात्र पनि ११० नै ठटाइरहेका छन् । यस्तै पर्साको ६० र भण्डाराको ८० नै असुलिएको छ । भरतपुरबाट फेरि नारायणगढसम्म १ नं. (रिंडरोड) र ६ नं. (गोन्द्राङ) को म्याजिकमा थप २५/२५ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता आइलागेको छ ।

गत मंसिर २८ गते भरतपुर महानगरपालिकाको सभाहलमा साना तथा ठूला यातायातका साधनहरुको सञ्चालन व्यवस्थापन सम्बन्धमा बसेको बैठकमा यात्रुजनलाई पर्नजाने असुविधा र मर्काप्रति ठूलाबडा कसैलाई बालमतलब भएन । मेयर रेनु दाहालको अध्यक्षतामा जिल्लाका सिडिओ, एसपी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, वडाअध्यक्षहरु लगायत यातायात व्यवसायीका प्रतिनिधिहरुबीच छलफल भई लामो तथा छोटो दूरीका सवारीसाधनहरु बस, म्याजिक र अटो सञ्चालन अनि रुट व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरिएको थियो । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथरसम्म जाने यात्रुवाहक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्क हुने निर्णय त गरियो तर भाडादर घटाउनुपर्ने आवश्यकतातर्फ भने ध्यान दिइएन । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पछि यसबारे जिज्ञासा राख्दा दूरी घटिसकेपछि किलोमिटर अनुसार भाडादर पनि स्वभाविक रुपमा घटाइनुपर्ने प्रहरी सहायक हवल्दार लेखनाथ पोख्रेल बताउँछन् । 
        

 

टिप्पणीहरू