रविको बचाउमा उत्रिएका वकिललाई इजलासमा र्‍याखर्‍याख्ती

रविको बचाउमा उत्रिएका वकिललाई इजलासमा  र्‍याखर्‍याख्ती

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । अहिले लामिछानेका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा जारी सुनुवाइका क्रममा रविका वकिलले नागरिकता कानुनलाई अनावश्यक कठोर बनाइएको तर्क गरेपछि न्यायाधीश ईश्वर खतिवडाले कडा प्रश्न उठाउनुभएको छ । इजलासबाट न्यायाधीश खतिवडाले लामिछानेले दोहोरो पासपोर्ट लिएको तथ्य स्थापित भइसकेको बताएपछि बहस गरिरहेका वकिलले नागरिकता कानुन कडा भएको बताएका थिए । त्यसपछि कडारुपमा प्रस्तुत हुनुभएका ईश्वर श्रीमान्ले नागरिकता ऐन कडा बनाउँदा राष्ट्रियता कम्जोर हुन्छ ? भनि प्रश्न गर्नुभयो । 

लामिछानेमाथि अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा नगई रद्द भैसकेको पुरानै नागरिकतालाई अभ्यासमा ल्याएको आरोप छ । पुरानै नागरिकताको आधारमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीको मागसहित गत २८ मंसिरमा सर्वोच्चमा रिट दर्ता भएको थियो । 

उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले पुस २२ गते सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेशसहित माघ ११ का लागि अग्राधिकार दिएर पेशी तोकेको थियो । अस्ति सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा आज सुनुवाइमा गएको हो । सम्भवतः आजै अन्तिम फैसला हुनेछ ।

टिप्पणीहरू