रवि लामिछानेको फैसला आउनुअघि सर्वोच्चमा व्यापक प्रहरी तैनाथ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्वन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा दुवैतर्फका कानुन व्यवसायीले बहस गरेसँगै सुनुवाई सकिएको हो । 

बहस सकिएसँगै न्यायाधीशहरु फैसलाबारे छलफलमा जुटेपछि सर्वोच्च अदालत वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । राजधानीका विभिन्न गण र सर्वोच्चभित्रको गणका प्रहरीलाई खटाइएको छ । नगर प्रहरीलाई पनि व्यापक ढंगले अहिले रामशाहपथ क्षेत्रमा तैनाथ गरिएको देखिन्छ । नजिकैको सिंहदरबार वृत्तबाट डिएसपी गोविन्द पुरीको नेतृत्वमा प्रहरी खटाइएको छ ।

फैसला रविविरुध्द आएको अवस्थामा हुनसक्ने सम्भावित हुलहुज्जतलाई ध्यानमा राखेर प्रहरी खटाइएको बताइएको छ । लामिछानेमाथि अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा नगई रद्द भइसकेको पुरानै नागरिकतालाई अभ्यासमा ल्याएको आरोप छ । पुरानै नागरिकताको आधारमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीको मागसहित गत २८ मंसिरमा सर्वोच्चमा रिट दर्ता भएको थियो । 

उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले पुस २२ गते सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेशसहित माघ ११ का लागि अग्राधिकार दिएर पेशी तोकेको थियो । बुधबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको आजै अन्तिम फैसला हुने सम्भावना छ ।

टिप्पणीहरू