आर्थिक हिनामिनाको आरोपमा अखिल (क्रान्तिकारी) का अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण

आर्थिक हिनामिनाको आरोपमा अखिल (क्रान्तिकारी) का अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहलाई सोही संगठनको लेखा आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका उपप्रमुख गम्भीर साउदले अध्यक्ष सिंहमाथि लागेको आर्थिक अनियमितताको आरोपको खण्डन आउन नसकेको भन्दै स्पष्टीकरण मागेका हुन् । 

अध्यक्ष सिंहमाथि संगठनका उपाध्यक्ष, कोषाध्यक्षसहित केही केन्द्रीय सदस्यले पोखरा विश्वविद्यालय र सीटीईभीटीमा आर्थिक मोलमोलाई गरेको आरोप लगाएका थिए । त्यसको कुनै खण्डन नगरेर उनले शंका गर्ने ठाउँ दिएको भन्दै आयोगले चित्तबुझ्दो स्पष्टीकरण मागेको हो ।

सिंहलाई सोधिएको प्रष्टीकरणमा संगठनका जिम्मेवार नेताहरुबाट सीटीईभीटी, पोखरा विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख छ । 

उपप्रमुख साउदले सिंहलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ‘तपाईंमाथि लगाएको आरोपको विषयउपर आजको दिनसम्ममा उचित जवाफ वा खण्डन आउन नसक्नुले तपाईंमाथि शंका गर्न मिल्ने ठाउँ बनेको छ ।’

कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरुको तय, मुद्दाहरु उठानको प्रक्रिया र सम्बन्धित निकायमा प्रारम्भिक रुपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ भनेर जारी भएको पत्र÷विज्ञप्ति÷ध्यानाकर्षण (सार्वजनिक भएको दुई पत्र) उपर तपाईंको धारणा के हो ? भनी सिंहमाथि प्रश्नसमेत गरिएको छ । 

वास्तविक कुराबारे २४ घण्टाभित्र लिखित रुपमा स्पष्टीकरण पेश गर्न उपप्रमुख साउदले निर्देशन दिएका छन् ।

टिप्पणीहरू