राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले कांग्रेस,एमालेसहितको सहमतिमा राष्ट्रपति चयन गर्नेबारे छलफल भएको जानकारी दिए । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा बैठकमा सहभागी अधिकांश नेताहरुको साझा धारणा आएको उनले बताए । त्यसका लागि साझा व्यक्ति आवश्यक पर्ने र सोहीअनुसार सहमति जुटाउन आफूले पहलकदमी लिने माओवादीको निर्णय छ । 

एमालेसहित सात दलीय गठबन्धनमा रहेको माओवादीले शक्ति सन्तुलन मिलाउन संवैधानिक पदहरुमा प्रमुख दलहरुबीच न्युनतम समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ । विगतमा राष्ट्रपति र प्रधानमन्त्री यौटै पार्टीबाट हुँदा शक्ति सन्तुलन बिग्रिएकाले यसपटक सुजबुझपूर्ण निर्णय लिन स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने बताइएको छ ।
 

टिप्पणीहरू