सर्वोच्चको आदेशपछि सुरक्षा निकाय ‘हाइ अलर्ट’ मा

सर्वोच्चको आदेशपछि सुरक्षा निकाय ‘हाइ अलर्ट’ मा

अमेरिकाको नागरिकता त्यागेर औपचारिक रुपमा नेपालको नागरिकता ग्रहण नगरेको आरोप प्रमाणित भएपछि उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै जिम्मेवारीबाट मुक्त भएका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले कानुनी प्रक्रिया पूरा गरेर औपचारिक रुपमा नेपाली नागरिकता नलिई अमेरिकी नागरिकको हैसियतमा सबै कार्य गर्दै आएकाले नेपाली नागरिकता प्रक्रियासम्मत ढंगले ग्रहण गर्न आदेश दिएको छ । लामिछानेविरुध्दको मुद्दामा जारी आदेशले उनका समर्थकहरु विचलित भएको मूल्यांकन गर्दै नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले उच्च सतर्कता अपनाएका छन् ।

फैसलालगत्तै लामिछानेका समर्थकहरुले सर्वोच्च अदालतको सामुन्ने रामशाहपथलगायत मुलुकका विभिन्न स्थानमा फाट्टफुट्ट नाराबाजी गरेकाले सुरक्षाकर्मीलाई हाई एलर्टमा राखिएको बताइएको छ । अर्कोतर्फ विपक्षी राजनीतिक दलका केही भ्रातृ संगठनहरुले उक्त फैसलाको स्वागत गर्दै खुशीयाली मनाएका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले अदालतको आदेशलगत्तै चाबहिल क्याम्पस बाहिर दिप प्रज्वलन गरेपछि सुरक्षा निकायले विशेष सजगता अपनाएको छ । आगामी केही दिन रविका समर्थक र विपक्षीहरुबीच झडपका गतिविधि हुनसक्ने आकलन गर्दै सबैजसो सुरक्षा निकायले विशेषगरी शहर, बजार र सदरमुकामहरुमा सुरक्षा सतर्कता बढाउनुपर्ने  विश्लेषण गरेका छन् ।

उक्त मुद्दामा शुक्रबार दिउँसो बहस सकिएपछि सर्वोच्च वरपर, माइतीघर,राजधानीका विभिन्न चोक तथा मुख्य सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ  ।

टिप्पणीहरू