रविले प्रक्रियाप्रति अटेरी नगरेको भए...

रविले प्रक्रियाप्रति अटेरी नगरेको भए...

अमेरिकी नागरिकता (ग्रिनकार्ड) त्यागेर नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरी रद्ध भैसकेको नेपाली नागरिकता प्रयोग गरेको सर्वोच्च अदालतको ठहरपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले एकैचोटी चार वटा महत्वपूर्ण पद गुमाए । अदालतको फैसलाले सांसद, उपप्रधानमन्त्री,गृहमन्त्री र पार्टी सभापति पद गुमाएका उनी अन्तत: नयाँ नागरिकता बनाउन बाध्य भएका छन् । 

सर्वोच्चको फैसलाप्रति आफ्ना समर्थक, शुभचिन्तकहरुले सडकबाट चुनौती दिइरहेका बेला लामिछाने आज कार्यालय खुल्ने बित्तिक्कै नागरिकता पुनर्प्राप्तिको निवेदन लिएर जिल्ला प्रशासन कार्यालय,काठमाडौँ पुगेका थिए । निजी गाडीमा काठमाडौँ प्रशासन कार्यालय पुग्दा समर्थकहरुको भीड थियो । सुरक्षामा खटिएका प्रहरीको घेरामा लामिछाने भीड छिचोल्दै प्रशासन कार्यालयको मूलढोकाबाट छिरे । 

लामिछाने बिहान साढे ११ बजेतिर सुरक्षा घेरामा प्रशासन कार्यालय पुगेपनि त्यसअघि उनी लाइनमा उभिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । सामान्य नागरिक सरह लाइन लागेर नागरिकता लिने प्रक्रियामा सहभागी भएको देखाउन उनका समर्थकहरुले सञ्जालबाट त्यस्तो प्रचार गरेका थिए । अदालतको फैसलाले टुप्पाबाट एकैचोटी भुइँमा पछारिएका लामिछानेको पक्षमा सहानुभूति बटुल्ने त्यस्तो फण्डा अन्तत: केही मीनेट पनि टिकेन । वास्तविकता बाहिर आइसकेको छ ।  

भीडमा विश्वास गर्नेहरु संस्थागत निर्णय र विधि पद्धतिप्रति अनुदार हुने गरेको  देखिन्छ । लामिछानेका समर्थकहरु पनि अदालतको निर्णयको विरोधमा सडकमा उत्रिएका छन् । फैसला आएकै दिन सर्वोच्च अदालतको मूलगेटमा उभिएर उनीहरुले षड्यन्त्रपूर्वक आफ्ना नेतालाई फसाइएको भन्दै  अदालत,आफैँ सहभागी सरकारका प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीविरुद्ध चर्को नारावाजीसमेत गरेका थिए । 

सुशासन र राजनीतिक शुद्धिकरणको नारा दिएर राजनीतिमा प्रवेश गरेकाहरु नै व्यक्तिको देवत्वकरणमा लागेर राज्यका निकायहरुप्रति असहिष्णुता देखाएको भन्दै वैकल्पिक राजनीतिको वकालत गर्नेहरु निरास देखिएका छन् । धेरैले प्रश्न गरेका छन् - लामिछाने उतिबेला टेलिभिजनको पर्दाबाट राजनीतिक दलका नेताहरुमाथि उठाएको नैतिकताको प्रश्नको घेरामा स्वयं पर्छन् कि पर्दैनन् ? राज्यका निकायहरु बलियो बनाउनुपर्नेमा व्यक्तिको देवत्वकरणले सुशासन कसरी प्राप्त हुन्छ ? 

त्यसैले क्षणिक फण्डामा रमाएर राज्यका निकायहरुलाई कमजोर ठान्दा आफ्नैलाई प्रत्युत्पादक बनेको यो घटनाले कम्तिमा लामिछानेलाई पाठ सिकाएको हुनुपर्छ । सामाजिक सञ्जाल र सडकमा पोखिएको समर्थकहरुको अन्ध समर्थनले हौसिएर 'केजरीवाल पथ' रोजे थप राजनीतिक क्षतिको सामना गर्नुपर्ने खतरा उनीसामु छ ।
 

टिप्पणीहरू