परराष्ट्र सचिवलाई ब्रसेल्समा स्वागत
परराष्ट्र सचिव भरतराज पौड्याल बेल्जियमको राजधानी ब्रसेल्स पुग्नुभएको छ । सचिव पौड्याललाई ब्रसेल्समा स्वागत गरिएको युरोपियन युनियनका मानव अधिकार सम्बन्धी विशेष प्रतिनिधि एमन गिलमोरले बताएका छन् ।
गिलमरले सचिवसँगको भेटपछि सामाजिक सञ्जालमार्फत् उक्त जानकारी गराएका हुन् । सो अवसरमा इयु र नेपालबीच मानव अधिकारलगायत विषयमा कायम रहेको आपसी सम्बन्धलाई थप मजबुत बनाउनेबारे कुराकानी भएको उल्लेख छ । विशेष प्रतिनिधि गिलमरले नेपालको संक्रमणकालीन न्याय तर्जुमाको प्रगति र शान्ति प्रक्रियाबारे बाँकी विश्वले धेरै सिक्नसक्ने बताएका छन् ।
ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार सचिव पौड्यालले भ्रमणको क्रममा नेदरल्याण्डसका उपमन्त्री तथा राजनीतिक मामिला सम्बन्धी प्रबन्ध निर्देशक मार्सेल डे भिन्कसँग पनि भेट गर्नुभएको छ ।
उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभामा हुन लागेको नेपाल र इयु संयुक्त आयोगको १४ औं बैठकमा भाग लिन हिजो बिहान त्यहाँ पुग्नुभएको हो ।
टिप्पणीहरू