भावी राष्ट्रपति गुरु कि कृष्ण ?
नेपालको भावी राष्ट्रपतिबारे अनेकन चर्चा चलेको अवस्थामा दुई जनाको नाम केही दिनयता अलि बढी उछाल्न थालिएको छ । यसरी पछिल्लो समय चर्चामा आएका बलिया नाममा नेकपा एमालेका गुरु बराल, सीता पौडेल, डोरमणि पौडेल र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला हुन् ।
एमाले उपाध्यक्ष ईश्वर पोखरेल भर्खरै चुनाव हारेको र सुवाष नेम्बाङलाई राष्ट्रपतिको रुपमा अघि सार्दा इलामको एक सिट गुम्ने जोखिम भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै भेगका गुरु बराललाई अघि सार्ने चर्चा शुरु भएको छ । यसको विपक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गोप्य गठबन्धन हुन सक्दा झापाबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारेका काँग्रेसका नेता कृष्ण सिटौंलालाई अघि सार्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ । सिटौलाको नाममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक हुनसक्ने दाबी गरिन्छ ।
तत्कालीन माओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराईलाई कास्कीको सिकलेसबाट हेलिकप्टर चढाएर बालुवाटार छिराउन र बृहत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउन सिटौलाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । उनी दक्षिणी छिमेकी भारतलाई पनि कम्फर्टेबल हुने बताइन्छ । प्रजातान्त्रिक प्रक्रियाप्रतिको निष्ठा र विरोधीहरूको वार्ता, ज्ञानेन्द्रको शान्तिपूर्ण र सुखद बहिर्गमनमा देखिएको क्षमताको कसीका आधारमा पनि उनलाई नै देउवाले अघि सार्नसक्ने देखिन्छ ।
त्यसो त सुवाष नेम्वाङलाई बनाउँदा त्यसले सरकार निर्माणको लागि १३७ सिट र पार्टीको समग्र सिटमा कुनै असर पदैन । गठबन्धन कायम भए एमालेले नै सो सिट जित्न पनि सक्छ तर अध्यक्ष ओली कुनै जोखिम मोल्न चाहँदैनन् । यसको उदाहरणका रूपमा हत्या अभियोगबापत अदालतले दोषी ठहर गरेपछि फरार रहेका लक्ष्मी महतो कोइरीलाई संसदमा हाजिर गराएर सरकारलाई विश्वासको मत दिलाउन खेलेको भूमिकाले प्रकट गरेको छ ।
फरार सांसदले गिरफ्तारी दिने ?
प्रहरीको सूचीमा फरार तर संसदमा हाजिर भएर सरकारलाई विश्वासको मत दिने लक्ष्मी महतो कोइरी अन्ततः पक्राउ पर्ने सम्भावना बढेको छ । सञ्चारमाध्यमहरूले गृहमन्त्री रवि लामिछानेको लाइनमा बसेर वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै विरोध गरेपछि एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली अब भने अप्ठ्यारोमा परेका छन् । उनैको सल्लाह र आश्वासनका भरमा कोइरी केही समयपछि पक्राउ पर्ने वा गिरफ्तारी दिने तयारीमा रहेको सूत्रले दाबी गरेको छ । ओलीको क्लिनचिट नपाउञ्जेलसम्म लामिछानेले कोइरीलाई समात्ने हिम्मत गरेका छैनन् ।
सूत्रका अनुसार उनको गिरफ्तारीका लागि बालकृष्ण ढुंगेल मोडेल अवलम्बन गरिन सक्छ । यो मोडेलअनुसार पक्राउ पर्ने र जेल बसेर मुद्दा जित्ने, मुद्दा नजितेको अवस्थामा आममाफी लिँदै जेलमुक्त हुने हो ।
टिप्पणीहरू