भुम्लुको कीर्ते हस्ताक्षर काण्डमा पालिका प्रमुख फेसबुकमा बर्बराउँदै, सल्लाहकार राजीनामाले लाज छोप्दै

भुम्लुको कीर्ते हस्ताक्षर काण्डमा पालिका प्रमुख फेसबुकमा बर्बराउँदै, सल्लाहकार राजीनामाले लाज छोप्दै

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका प्रमुख प्रेमबहादुर भुजेलका सल्लाहकार तुलसीमान तामाङले राजीनामा दिएका छन् । वडा नम्बर–५ मुलाबारीस्थित श्री घोङग ताम्सालिङ गुम्बा निर्माणको क्रममा सल्लाहकार तामाङले निर्माण समितिका कोषाध्यक्ष र सचिवको कीर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको तथ्य छरपस्ट भएपछि उनले राजीनामा दिएका हुन् । 

सामाजिक सञ्जालमा यो विषय भाइरल बनेपछि उनले लाज छोप्न राजीनामा दिएको स्थानीयको भनाइ छ । पालिका अध्यक्षसहितको मिलोमतोमा समिति विघटन गरी रातारात नयाँ समिति बनाएर पाँच लाख रुपैयाँ झिकेको कुरा बाहिर आएको थियो ।  

डुक्मा दोर्जे लामाको अध्यक्षतामा गठित पुरानो समितिमा कोषाध्यक्ष अनिता गुरुङ र अमृतकुमार लामा सचिव थिए । मठराम तामाङ, शर्मिला तामाङ र मनमाया तामाङ समितिका सदस्य थिए । तर, उनीहरु कसैलाई सुईंको नदिई अध्यक्ष भुजेलका सल्लाहकार तुलसीमानलाई नयाँ समितिको कोषाध्यक्ष बनाएर रकम निकालेको खुलस्त भएको छ । 

‘गाउँपालिकाका अध्यक्ष भुजेलको एकल सिफारिसमा निर्माण समितिका सबै सदस्यको कीर्ते हस्ताक्षर गरी अर्को समिति गठन गरेर पाँच लाख निकालिएकोमा सल्लाहकारले राजीनामा दिएर पन्छिन खोजेका छन् । पालिका प्रमुखले भने अहिलेसम्म केही पनि बोलेका छैनन्’, एक स्थानीयले भने । 

तुलसीमान कुनै स्पष्टीकरण नदिई पन्छिन खोज्दा पनि सम्बन्धित निकाय हात बाँधेर बसेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । उता, पालिका प्रमुख भुजेलले रीत पूरा गरेरै सिफारिस गरिएको भन्दै आफ्नो फेसबुकमा स्टाटस् लेखेर प्रष्टीकरण दिएका छन् । 

उनले लेखेका छन्, ‘बरु, म पानी खाएर बाचौँला, भ्रष्टाचार गर्दिंन र गर्न पनि दिन्न ! गलत नियत राखेर कुनै सिफारिस गरिएको छैन, रीत पूरा गरी आएअनुसार सिफारिस गरिएको छु । बिलकुल भ्रम नरहोस् । मप्रति जुन आशा, अपेक्षा र भरोसा राख्ने सम्पूर्ण आदरणीय मतदाता, शुभचिन्तक दाजुभाइ दिदी बहिनीहरुको ! तपाईंहरुको शीर निहुरिन कदापि दिनेछैन । म पुनः प्रतिबद्धता गर्दछु । मेरा बारेमा टिप्पणी गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता, मिडिया कर्मचारीहरुलाई विशेष धन्यवाद दिन्छु कि मलाई सचेत गराउनुभएकोमा ।’

उनले थपेका छन्, ‘सामाजिक सञ्जाल, मिडियाकर्मीले सचेत गराउन यसरी लाग्नुभयो की अन्धकारमा जे पाइन्छ त्यहीले घोच्न थाल्नुभो । सचेतनाको आगोको लप्काले मेरो हृदयदेखि चरित्रसम्म जलाउने गरि सामाजिक सञ्जालमा स्थानीय सरकारको नै बदनामी हुने गरि भइरहेको प्रचारबाजी मैले गम्भीरता पूर्वक हेरिरहेको छु र यसप्रति दुःखी छु ।’

यता, स्थानीय रमन तामाङले यो सबै पालिका प्रमुख भुजेलको नौटंकी भएको आरोप लगाएका छन् । यति ठूलो दाग लाग्दासमेत उनलाई केही फरक नपरेकोमा तामाङ आश्चर्यचकित छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अरुले के गरेभन्दा पनि मैले के गरेँ र ममाथि प्रश्न उठ्यो भन्ने कुराको हेक्का हुनुपर्यो । अलिकति गल्ती महशुस गर्नु छैन अझै अरुलाई दोष दिने है, नैतिकता भन्ने अलिकति पनि नहुने कस्तो अचम्म छ है । मुखमा रामराम बगलिमा छुरा, मानिस एक, रुप अनेक । कठै सर्वहारा वर्गको नेतृत्व धिक्कार होस् ।’

सँधै विवादमा तानिने भुम्लु गाउँपालिका नयाँ नेतृत्व आएको एक वर्ष नपुग्दै करार पदपूर्तिमा नातावाद, सडक निर्माणसँगै अहिले पुनः कीर्तेको आरोपमा मुछिएको छ ।

टिप्पणीहरू