सन्दीपको निवेदनमा सुनुवाई सकियो, आजै आदेश आउने

आफूलाई देश बाहिर जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमाथिको सुनुवाइ सकिएको छ । 

उमेर नपुगेकी किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले विदेश जान नपाउने शर्तमा उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जसका कारण सोमबारदेखि यूएईमा हुने आइसीसी विश्वकप लिग-२ को शृंखला खेल्न सन्दीप बन्चित भएका छन् । 

उच्च अदालतको शर्त खारेज गर्नुपर्ने माग गर्दै उनले हिजो सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउने बताइएको छ । 

यसअघि सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने आफ्नो चाहना हुँदाहुँदै पनि प्रक्रिया मिच्न नमिल्ने बताएका थिए । नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर क्यानका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएपछि न्यायाधीश खतिवडाले त्यस्तो जवाफ दिएका हुन् ।

टिप्पणीहरू