सन्दीप यूएई जान नपाउने, आइतबार अर्को पेशी

सन्दीप यूएई जान नपाउने, आइतबार अर्को पेशी

क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । आफूलाई देश बाहिर जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध उनले दिएको पुनरावेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले आज कुनै निर्णय नगरेको हो । 

सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित हिजो दायर गरेको पुनरावेदनको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिटसँगै राखेर आइतबारका लागि पेशी तोक्न भनेको हो । सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले दिएको पुनरावेदनका साथै यो मुद्दालाई पनि साथमा राखेर पेश गर्न भनेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

उमेर नपुगेकी किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले विदेश जान नपाउने शर्तमा उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

जसका कारण सोमबारदेखि यूएईमा हुने आइसीसी विश्वकप लिग–२ को शृंखला खेल्नबाट सन्दीप वञ्चित भएका हुन् । उनले विदेश जानु पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए ।

टिप्पणीहरू