‘बोक्सी’ का नाममा शहरभित्रैको बर्बरता

‘बोक्सी’ का नाममा शहरभित्रैको बर्बरता

०७८ साल पुस २४ गते नागार्जुन नगरपालिका–१ रानीवनस्थित पानीट्यांकीमा झारफुकका लागि राखिएकी सिन्धुपाल्चोक चौतारा घर भई मध्यपुर थिमि मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको मृत्यु भयो । श्रेष्ठको ४८ वर्षीया माता उमा शाही ठकुरीको यातनाका कारण मृत्यु भएको थियो । हत्या अभियोगमा मुद्दा चलेपछि जिल्ला अदालत काठमाडौंले माता भनिने ठकुरीलाई ०७८ माघ २० गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा पुर्पक्ष थुनामा पठाएको छ ।

पेट दुखेर अस्वस्थ भएपछि ललितपुरमहालक्ष्मी–६, लुभुकी सुष्मा श्रेष्ठ महर्जनले पनि उस्तै यातना भोग्नुपरेको छ । ०७८ भदौ १८ गते श्रेष्ठका श्रीमान्ले सन्चो हुने विश्वासमा धामी–झाँक्रीकहाँ लगे । नागार्जुन–३ ठूलोभ¥याङस्थित दीपेन्द्रकुमार थिङको कोठामा लगेर बोक्सी चढेको भन्दै मलमूत्र खुवाउँदै लठ्ठीले कुटेर श्रेष्ठलाई सख्त घाइते तुल्याइयो । प्रहरी अनुसन्धानपछि मुद्दा चलेपछि काठमाडौं अदालतबाट असोज १३ गते बोक्सीको आरोपसम्बन्धी कसुरमा धामीसहितका दोषीलाई ५/५ वर्ष कैद र २५/२५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भयो । 

राजधानीमै झारफुकको बहानामा यातना भोगेकी रूपा (सविता) राई डेढ महिना अस्पतालमा बसेर अघिल्लो साता मात्र डिस्चार्ज भइन् । सुनसरी बराहक्षेत्र नगरपालिका–६ कालाबन्जराकी ३३ वर्षीया रूपालाई धामीले कथित बोक्सीको आरोपमा तातो तेल र पानीले छातीमा पोलेको घाउ अझै निको भएको छैन । रूपाको तीनपल्ट त अपरेसन नै गर्नुपरेको थियो । उनको छातीमा प्लास्टिक सर्जरी गरिएको छ । रूपाको हात बाँधेर आफूलाई माता बताउने सचिना सारू मगरसहित पाँच जनाले तातो तेल र पानी खन्याएको अभियोगमा मुद्दा चलाइयो र जिल्ला अदालत काठमाडौंको आदेशले उनीहरू हाल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । 

राजधानी काठमाडौंमै अन्धविश्वासका कारण महिलाले चरम यातना भोग्नुपरेका यी केही दृष्टान्त हुन् । तथ्यांकले कथित ‘बोक्सी’ को आरोपमा महिलाले गम्भीर यातना खेप्दै ज्यानसमेत गुमाएको अवस्था दर्शाउँछ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बोक्सीको आरोप र झारफुकका कारण मुलुकभर पछिल्ला तीन वर्षमा ७ जना महिलाले ज्यान गुमाएका छन् । यातना र हत्यामा संलग्न ५० जना आरोपी पक्राउ परेका छन् । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ०७७÷७८ मा दुई जना, ०७८÷७९ मा चार र चालु वर्षमा एक जना महिलाको मृत्यु भएको देखिन्छ । धामी–झाँक्रीको यातनाका कारण दुई जना महिला गम्भीर घाइते भएका छन् ।
 

टिप्पणीहरू