कालापानी छेउका जनता अत्यन्त क्रुद्ध

कालापानी छेउका जनता अत्यन्त क्रुद्ध
सुन्नुहोस्

वैशाख ४ गते अर्थात् मार्च १९ मा सम्पन्न भारतको लोकसभा निर्वाचनमा अतिक्रमित नेपाली भूमिमा पर्ने गाउँमा न्यून मतदान भएको छ । भारत सरकारले आफ्ना माग संबोधन नगरेको भन्दै स्थानीयवासीले मतदान बहिष्कार गरेका छन् । 

कुटी, नाभी र गुञ्जी गाउँका स्थानीय वासिन्दाको मागलाई बेवास्ता गरी पर्यटकहरूका लागि हेलिकोप्टर सेवा सञ्चालन गरिएको, गुञ्जीको मनिलास्थित स्थानीयको चलनभोगको मैदान अतिक्रमण गरिएको र स्थानीयको जीविकोपार्जनलाई बेवास्ता गरिएको भन्दै स्थानीय मत हाल्न नगएका हुन् । 

स्थानीयवासीको विरोधपछि लोकसभा निर्वाचनअन्तर्गत नाभी गाउँमा सबैभन्दा कम ११ दशमलव ६१ प्रतिशत मतदान भएको छ । भारतीय निर्वाचन आयोगको विवरणअनुसार नाभीमा २ सय ५८ पुरुष र २ सय ८१ महिलासहित ५ सय ३९ मतदाता छन् । गुञ्जीमा २ सय ६५ पुरुष र २ सय ९६ महिलासहित ५ सय ६१ मतदाता रहेकोमा २० दशमलव ६७ प्रतिशत मात्रै मतदान भएको तथ्यांक छ । कुटी गाउँका ३ सय ३३ मतदातामध्ये ३४ दशमलव ३५ प्रतिशतले मतदान गरेका छन् । कुटीमा १ सय ६९ पुरुष र १ सय ६४ महिला मतदाता छन् । 

हिउदमा धारचुला बजार क्षेत्रमा बसाईं गर्दैआएका तीनवटै गाउँका स्थानीयवासीको सुविधाका लागि बजार क्षेत्रमै मतदान केन्द्र राखिएका थिए । पछिल्लो समय यी तीनवटै गाउँलाई सडक मार्गले जोडे पनि मतदाताको सुविधाका लागि धारचुला बजार क्षेत्रमै मतदान गराइएको हो । स्थानीयले केही हप्ताअघिदेखि आफ्ना मागहरू संबोधन गराउन स्थानीय प्रशासन र राजनीतिक नेतृत्वमार्फत लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा मतदान बहिष्कार हुँदा नराम्रो सन्देश जाने भन्दै बिजेपी समर्थक कार्यकर्ताले भने मतदान गरेका छन् । गुञ्जी, नाभी र कुटी गाउँका स्थानीयवासीको मागप्रति छिमेकी गाउँको पनि समर्थन छ । गुञ्जीसंग जोडिएको नपलच्यु गाउँ र नाभीसंग जोडिएको रोङकाङ गाउँका साथै महाकाली नदी किनारका गब्र्याङ र बुँदी गाउँमा पनि न्यून मतदान भएको छ । 

भारतीय सञ्चारमाध्यममा सार्वजनिक विवरणअनुसार गब्र्याङमा ५ दशमलव ७३ प्रतिशत र बुँदी गाउँमा १७ दशमलव ९३ प्रतिशत मत खसेको छ । नपलच्यु गाउँका वासिन्दाले गुञ्जीको मतदान केन्द्र र रोङकाङका बासिन्दाले नाभीको मतदान केन्द्रमा मतदान गर्छन् । 

सीमा क्षेत्रका गाउँका साझा माग र मुद्दा भएकोले माग संबोधन गराउन सबैजसो गाउँमा चुनाव बहिष्कार भएको छ । तर, कानुनी रुपमा एक जनाले मतदान गर्दा पनि पूर्ण बहिष्कार मानिँदैन । स्थानीयले चेतावनी दिएपछि मतदान हुनु दुई दिनअघि भारतीय अधिकारीहरूले छलफल गरेका थिए । धारचुलास्थित एसडिएम कार्यालयमा उत्तराखण्ड सरकारका पर्यटन सचिव पूजा गब्र्याल, मुख्य विकास अधिकारी नन्दनकुमार र कुमाउँ मण्डल विकास निगमका अधिकारी सञ्जीव तिवारीले स्थानीयसंग वार्ता गरेका हुन् । सरकारी टोलीसंग वार्ता सफल नभएपछि स्थानीयले मतदान बहिष्कारको अडान जारी राखेको स्रोतले बतायो । 

मोदी नेतृत्वको बिजेपी सरकारले गुञ्जीलगायत सीमावर्ती गाउँलाई भाइब्रेन्ट भिलेज बनाउन लागिएकोले चुनाव बहिष्कारबाट नकारात्मक सन्देश जाने भन्दै अन्तिम समयमा केही मतदाताले भोट हालेको एक स्थानीयको भनाइ छ । अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभी र गुञ्जीका बासिन्दा आफूलाई भारतीय नागरिक बताउँछन् । दुई–तीन पुस्तादेखि भारतीय नागरिकको सेवा र अधिकार प्रयोग गरिरहेकोले कोही पनि स्थानीय आफूलाई नेपाली भन्न तयार नभएको ती स्थानीयको भनाइ छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू