रविले पनि प्रचण्डलाई विश्वासको मत दिने

रविले पनि प्रचण्डलाई विश्वासको मत दिने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई विश्वासको मत दिने भएको छ ।  

आज पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो ।

सो पार्टीले सरकारमा जाने विषयमा भने औपचारिक निर्णय गरेको छैन । पुस १० गते एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वपा सत्ता गठबन्धनको निर्णायक शक्ति थियो । त्यसैको बलमा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री लिएर आफ्नै नेतृत्वमा सरकारमा सामेल भएका थिए । 

त्यसैबीच सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवाद दोषी ठहर गरेपछि सांसद पद गुमाएका उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । नयाँ नागरिकता लिएर पुन: गृहमन्त्री हुन चाहेका उनी त्यसमा सफल नभएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।  यद्यपि रास्वपाले अहिलेसम्म सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छैन । 

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत फिर्ता लिँदै सरकार छोडेपछि संविधान बमोजिम प्रधानमन्त्री प्रचण्डले दोस्रोचोटी विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
 

टिप्पणीहरू