काबुलको अँध्यारो कोठाभित्रको कहालीलाग्दो त्यो पीडा

काबुलको अँध्यारो कोठाभित्रको कहालीलाग्दो त्यो पीडा

सन् २०२१, अगष्ट १५ को दिन मेरो निम्ति निकै दुखद् क्षण बन्यो । म कार्यालयको काममा थिएँ । बिहानको ११ बजे एक्कासी मेरो म्यानेजरले वाह्य परिस्थिति नाजुक भएको बताउँदै जतिसक्दो छिटो घर जान आग्रह गरे ।

डेरा गरेर बसेको एउटा सानो कोठामा म फर्किएँ । मेरो कोठा निकै अँध्यारो थियो । बोल्ने कोही पनि थिएनन् । कोठाका भित्ताहरू मेरो मुटुको कम्पन र डरले गुञ्जिरहेका थिए । मैले झ्याल बन्द गरेँ र पर्दा लगाएँ । कसैलाई फोन गर्ने अवस्था पनि थिएन ।

मलाई त्यो समयमा केवल मेरो नजिक कोही बसेर ‘सबै ठिक हुन्छ, तिमी चिन्ता नगर’ भन्ने एउटा आशाको किरण चाहिएको थियो तर मेरो शरीर डरले काँपिरहेको थियो । केही घण्टापछि मैले केही महशुस पनि गर्न सकेकी थिइनँ । भोक, तिर्खा, निन्द्रा केही थिएन। मनमा केवल बेचैनी र डर मात्र थियो ।

तालिबानले म बसेको घरमा पो आक्रमण गरे कि भनेर बारम्बार आफ्नो झ्यालबाट चियाउँथे । सानो अँध्यारो कोठामा म एउटी निहत्था महिला, न कोही परिवार छ न  साथी । चिन्ताले मानसिक रूपमा थकित भइसकेकी थिएँ । रातभरि ब्युँझिएर बसे पनि मलाई निन्द्रा लागेन ।

कोठामा खानलाई एक टुक्रा पाउरोटी पनि थिएन तर बेकरीसम्म गएर ल्याउन मनले मानेको थिएन । मलाई भोक पनि लागेको थिएन । त्यसैले तालिबानले काबुल कब्जा गरेको तेस्रो दिनसम्म केही नखाई बसेँ । मेरो शरीर पूर्ण रूपमा त्रासको नियन्त्रणमा थियो । डर र त्रासले खोक्रो बनाइसकेको शरीर थकित हुँदै गइरहेको थियो । म त्यो कोठाबाट निस्किन चाहन्थेँ । खाटमा पल्टेर म यहाँबाट कसरी निस्कुँ, कहाँ जाउँ र कसरी जाउँ भन्ने सोचिरहेकी थिएँ ।

मेरा छिमेकीहरू निकै असल मानिस हुन् । तीन दिनदेखि केही नखाएको थाहा पाएर एक महिला मेरो निम्ति उनको घरबाट केही खानेकुरा बोकेर आइन् । मैले खाँदिन भन्दा पनि उनले सान्त्वना दिएर खुवाइन् । १–२ गाँसपछि मेरो हात खुट्टामा बल्ल ऊर्जा आएजस्तो भयो । मलाई त्यसपछि महशुस भयो म थकित हुनुको कारण भोकै बसेर रहेछ । 

मैले ती महिलालाई मेरो बारेमा तालिबानलाई नभनिदिन आग्रह गरेँ । काबुलमा एक्लै बसेर काम गर्दै परिवार पालेको कुरा उनलाई सम्झाएँ । उनले भनिन्, ‘तिमी हाम्रो परिवारको एक सदस्य जस्तै भइसक्यौ । चिन्ता नगर हामी तालिबानलाई तिम्रो बारेमा भन्दैनौँ ।’

त्यो एक्लो र अँध्यारो कोठामा म एक हप्ता बसेँ । काबुल विश्वविद्यालयमा पढ्ने मेरो दुईजना ‘रूममेट’ हरू आफ्नो घर गइसकेका थिए ।

सात सदस्यीय परिवारको एक मात्र कमाउने व्यक्ति भएको कारण म चाहिँ काबुलमै बस्नु परेको हो । बाम्यान विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिए पनि बाम्यानमा काम नपाएर काबुल आएकी थिएँ । एउटा गैरसरकारी संस्थाको मुख्यालयमा सन् २०१८ मा काम पाएपछि म काबुल आएकी हुँ ।

मेरो तलब मासिक १८ हजार अफगान रुपैयाँ थियो । आफ्नो खर्च टारेर बाँकी रहेको पैसा म घर पठाउने गर्थें । बुवाको उमेर ढल्केकाले अरूको खेतमा काम गरेर धेरै कमाउन सक्नु हुन्नथ्यो । धेरैजसो मैले पठाएको पैसाले नै घरखर्च चल्थ्यो ।

तीन वर्षसम्म म आरामले काबुलमा बसेँ । त्यसपछि २०२१ को अगष्ट आयो । तालिबानले अफगानिस्तान कब्जा गरेको एक हप्तापछि म अफिस गएँ । आँखाबाहेक शरीरको सबै अंग ढाक्ने गरी हिजाब लगाए पनि मेरो कपडाको बारेमा निकै नै चियोचर्चो हुन्थ्यो । काम र पैसाको आवश्यकता भएकाले तालिबानको ‘अन्डर’ मा काम गरेँ ।

तालिबानले हरेक घर छापा मार्दा म एक सातासम्म त्रासमा बाँचे । मेरो साथमा ’महरम’ (श्रीमान) नरहेको वा म एक्लै बस्ने थाहा पाए तालिबानले मलाई के सजाए दिने थियो मलाई थाहा थिएन । मेरो अवस्थाको कारण बाम्यानबाट बुबा काबुल आउनुभयो र हामीसँगै घर फर्कियौं । तर एक महिनापछि पैसा अभावको कारण म फेरि काबुलमा आफूले काम गरिरहेको गैरसरकारी संस्थामै फर्किएँ ।

सन् २०२२, डिसेम्बर २५ मा तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाइदियो । अफिसको म्यानेजरले प्रतिबन्ध नखुल्ने समयसम्म कामबाट हटाएको सूचना दियो ।

म अहिले पनि काबुल मै छु । तर अलिअलि बचेको पैसा सकिँदै गइरहेको छ । कामबाट निकालिएको कारण म अरू काम खोज्दैछु । काबुलको एउटा सानो कोठाको भाडा पनि तिर्नुपर्ने छ । महिलालाई हिजोआज कसैले काम दिँदैन । घरमा कसैलाई पैसा उधारो लिन अनुरोध गरे पनि उहाँहरूले सक्नुभएन । तालिबानले महिलाहरूलाई कार्यालयमा काम गर्न प्रतिबन्ध लगाउनुभन्दा अघि पठाएको पैसा पनि सकिएछ ।
 
काम पाइयोस् र कोठाभाडा तिर्न सकूँ भनेर हरेक रात म अल्लाहको प्रार्थना गर्छु । हिजो मैले बेकरीबाट पाउरोटी किनेँ । मासिक बेकरीलाई पैसा तिर्दा दैनिक एउटा पाउरोटी मात्र पाउँछु । अघिल्लो तीन दिनदेखि मैले चिया र पाउरोटी मात्र खाएको छु । मसँग अब केवल दुइटा प्याज र अलिकति तेल बाँकी छ । यसरी कति दिन बाँच्न सक्छु, पत्तो छैन ।

(अफगानिस्तानमा विद्रोही तालिबान सत्तामा फर्किएपछि एउटी एक्ली युवतीले काबुलमा भोग्दै आएको कहालीलाग्दो कथा हो यो ।)

टिप्पणीहरू