सरकारी संयन्त्रको नाम फेर्न नेपाल र चीनका सरकारी अधिकारीहरु सहमत

सरकारी संयन्त्रको नाम फेर्न नेपाल र चीनका सरकारी अधिकारीहरु सहमत

ल्हासामा सम्पन्न बैठकमा नेपाल र चीनका सरकारी अधिकारीहरु दुई मुलुकबीच बनाइएको एउटा संयन्त्रको नाम फेर्न सहमत भएका छन् । नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति भएको बताइएको छ ।

बैठकमा केरुङ नाकामा पर्सिदेखि दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति पनि भएको छ । संयन्त्रको पहिलो बैठकमा हिजो उक्त सहमति भएको हो । तातोपानी नाकामा पनि आगामी नयाँ वर्षको बैशाख १८ गतेदेखि दुईतर्फी मानव आवागमन गर्ने निर्णय भएको छ ।

बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेको बताइएको छ ।

बैठकमा सीमापार व्यापार, भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ उपाय र मार्ग खोज्नेलगायत विषयमा छलफल भएको छ ।

नेपाली पक्षले काठमाडौँ–ल्हासा सिधा हवाई उडानको आवश्यकतामा जोड दिएको थियो । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपाली महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।

चीनको तर्फबाट तिब्बत स्वायत्त क्षेत्र सरकारअन्तर्गत वाणिज्य विभाग, भन्सार, स्वास्थ्य विभाग, विदेश मामिला कार्यालयलगायत निकायका अधिकारीहरु सहभागी भएको बताइएको छ ।
 

टिप्पणीहरू