नेपाल वायुसेवाको सेवाप्रति नयाँ दिल्लीमा यात्रुको आक्रोश, ‘कहिले सुध्रिने ?’

नेपाल वायुसेवाको सेवाप्रति नयाँ दिल्लीमा यात्रुको आक्रोश, ‘कहिले सुध्रिने ?’

नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवाको स्तरबारे फेरि प्रश्न चिन्ह उठ्न  थालेको छ । हिजो अपरान्ह भारतको राजधानी नयाँ दिल्लीबाट उड्नुपर्ने निगमको विमान राति अबेरसम्म उड्ने जानकारी दिएर अन्ततः विना कारण उडान रद्द गराइएपछि यात्रुहरु आक्रोशित बनेको बताइन्छ । दिउँसो ४ बजेर २० मीनेटमा उड्नुपर्ने आरए २१८ नम्बरको उडान मध्यरातमा रद्द भएको हो । उक्त उडानमा भारत राजस्थानका यात्रीहरु धेरै  थिए । उनीहरु नेपालमा तीर्थयात्रा गर्न आउन लागेका हुन् ।

तर,कम्पनीले उडान मध्यरात रद्द गरेपछि उनीहरु बिलखबन्दमा परे । राजस्थान सरकारको खर्चमा नेपाल आउन लागेका उनीहरु बिहान ३ बजे उठेर सडक मार्गबाट नयाँ दिल्लीतिर लागेका थिए । दिउँसो १ बजे नयाँ दिल्ली विमानस्थल पुगे पनि काठमाडौंको उडान रद्द भएपछि ती रुष्ट भए ।

उडान रद्द हुँदा कम्पनीको तर्फबाट कुनै पनि कर्मचारी विमानस्थलमा थिएनन् । यसले पनि यात्रुहरु थप क्रुद्ध बनेको बताइन्छ । सोही उडानमा काठमाडौं आउन लागेका एक जना नेपाली भन्दै थिए, ‘विमानस्थलमा आरएको कुनै नेपाली कर्मचारी देखिएनन् । यो संस्था कहिल्यै सुध्रिने भएन । कर्मचारी नसुध्रिएपछि कम्पनी डुब्ने पक्का छ ।’

पहिले यात्रुहरुलाई दुई घण्टापछि साँझ सवा ६ बजे उडान हुने बताइएको थियो । तर राति १० बजेसम्मको भाका सारेर अन्ततः उडान रद्द भएको घोषणा गरियो । 
आरए २१८ उडान नम्बरको एअर बस ३३० विमानमा दिउँसो नयाँ दिल्ली पुगेपछि प्राविधिक समस्या देखिएको बताइएको छ ।

सोही विमान हिजो राति काठमाडौंबाट ११ बजे कतारको राजधानी दोहातर्फ उड्ने सेड्युल थियो ।


 

टिप्पणीहरू