पीडितहरुको आन्दोलनमा बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

पीडितहरुको आन्दोलनमा बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरु राख्न पाउने नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ । 

कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीको आन्दोलन दबाउन प्रहरीले बल प्रयोग गरेको गुनासो बढेपछि आयोगले आज सरकारलाई नागरिक अधिकारको सम्मान गर्न भनेको हो । संविधानको धारा १९ ले हरेक नागरिकलाई शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउंदै आयोगले यी अधिकारको सुनिश्चितता गराउनु राज्यको दायित्व रहने बताएको छ । 

आज विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘कोशी प्रदेशको नामकरण विषयलाई लिएर आन्दोलनको क्रममा लाजेहाङ लिम्बू (पदम लिम्बू) को मृत्यु भएको, काठमाडौँमा आफ्ना मागहरु राखी विरोध गर्नेलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीहरुद्वारा प्रदर्शनकारीहरुको मुख थुनिएको र सरकारको ध्यानाकर्षण गराउन भनी मधेश प्रदेशका मीटरब्याज पीडितहरु लामो पैदलयात्रा पार गरी काठमाडौँमा आई प्रदर्शन गरिरहेका जस्ता घटनाहरुमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आफ्ना मागहरु राख्दा विधिसंगत, शान्तिपूर्ण, मर्यादित ढुंगले राख्न र आफ्ना अधिकारको प्रयोग गर्न अरुको अधिकारमा आँच आउन सक्नेतर्फ ध्यान पुर्याउन प्रदर्शनकारीहरुलाई पनि आग्रह गरेका छन् । त्यस्तै, कुनै पनि व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउँदा मानव अधिकारमैत्री विधि र व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

कोशी प्रदेशमा ज्यान गुमाएका पदमका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न, उनको मृत्युको घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन, मीटरब्याज पीडितका सम्बन्धमा आवश्यक कानून निर्माण गर्न र गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मीटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिसहरु कार्यान्वयन गर्नसमेत आयोगले सरकारलाई आग्रह गरेको छ ।

टिप्पणीहरू