इजाजतपत्र चैतभित्र नवीकरण गर्न ठेकेदारहरुलाई निर्देशन

इजाजतपत्र चैतभित्र नवीकरण गर्न ठेकेदारहरुलाई निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्माण व्यवसाय प्रवद्र्धन शाखाले चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ । आज सूचना प्रकाशित गर्दै शाखाले निर्माण व्यवसायीहरुलाई चैत मसान्तभित्र इजाजतपत्रको नवीकरण गर्न निर्देशन दिइएको हो । 

सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने जानकारी दिँदै शाखाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने जनाएको छ ।

सूचनामा भनिएको छ, ‘निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ तथा निर्माण व्यवसाय नियमावली, २०५६ को नियम ६ बमोजिम कुनै पनि सार्वजनिक निर्माण कार्य गर्न दिइएको इजाजतपत्रको अवधि सोही ऐनको दफा ५ तथा नियमावलीको नियम ७ अनुसार प्रत्येक आर्थिक वर्षमा समाप्त हुने हुँदा इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची–२ बमोजिमको दस्तुर तिरेर नवीकरण गराउनुपर्नेछ ।’

शाखाले उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्ने उल्लेख गर्दै छ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने जानकारी दिइएको छ । साथै, इजाजतपत्र नवीकरण गर्न आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रसमेत अनिवार्य ल्याउन शाखाले अनुरोध गरेको हो ।
 

टिप्पणीहरू