रोमानिया जाने नेपालीबाट ३३ हजार बरामद,म्यानपावर सञ्चालक फरार

रोमानिया जाने नेपालीबाट ३३ हजार बरामद,म्यानपावर सञ्चालक फरार

 रोमानियामा आकर्षक जागिर लगाइदिने प्रलोभनमा त्यसतर्फ उडाउन खोजिएका ११ जना नेपालीको साथबाट ३३ हजार ६८ डलर बरामद भएको छ । हिजो बेलुकी साढे ८ बजे दुबई हुँदै रोमानियातर्फ जान लागेका सर्वसाधारणको साथबाट प्रहरीले काठमाडौं विमानस्थलमा डलर फेला पारेको बताइन्छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ बाट दुबई जाने क्रममा विमानस्थलको सुरक्षा जाँच डेस्कमा उनीहरुको साथबाट ३ हजार डलरको दरले उक्त रकम फेला परेको हो । लगत्तै प्रहरी नियन्त्रणमा लिइएका ११ जनालाई महानगरीय प्रहरी वृत्त,नक्साल पुर्याइएको छ । हालसम्म बयान लिन नभ्याइएको स्रोतको दाबी छ । उनीहरु सबै द ग्लोबल रिक्रुटमेण्ट्स म्यानपावरबाट वैदेशिक रोजगारीमा जान लागेका थिए । सो रकम द ग्लोबलले भीसा मिलाउने व्यक्तिलाई कमिसनवापत रोमानिया पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय विदेशमा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पठाउने क्रममा उनीहरुको साथबाट विदेशमा रहेका दलाललाई डलर पठाउने गरिएको छ ।

प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएकाहरुमा बाग्लुङका तीन जना छन् । पासपोर्ट नम्बर ०९१९४१६४ का ३२ वर्षे चन्द्रकान्त चालिसे, ११६१०६०२ का ३५ वर्षे बुध्दवीर वाग्ले र १२५७९२२४ का ४० वर्षे प्रथलाल घर्ती हुन् । त्यसैगरी काभ्रेपलाञ्चोकका पासपोर्ट नम्बर १२२९५०७१ का ३८ वर्षे अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका ०८६८६०१३ का ४६ वर्षे नरबहादुर गर्वुजा, म्याग्दीकै ०९७६२२२१ का ३५ वर्षे दिलकुमार पुन पनि प्रहरी नियन्त्रणमा पुगेका छन् ।

पासपोर्ट नम्बर ०८६६६७५१४ का ३७ वर्षीय रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोका ४५ वर्षे पासपोर्ट नम्बर ११०३९२१९ का टेकारे तामाङ्ग, नुवाकोटकै ३९ वर्षका रामभक्त थापा राहदानी नम्बर ००१०७००, धनकुटाका राहदानी नम्बर ०४५७८३९ का ३९ वर्षे मरिचलाल लिम्बू र सोलुखुम्बुका ४३ वर्षे राहदानी नम्बर ०८१९३८५७ का दोर्जी तामाङ पनि अवैध विदेशी मुद्रासहित समातिएका हुन् ।

टिप्पणीहरू