तीन दशकमा नेपालको वनजंगल दोब्बर

तीन दशकमा नेपालको वनजंगल दोब्बर

पछिल्लो तीन दशकमा नेपालको वनजंगलले ढाकेको भूभाग दोब्बर भएको छ । हालैको एक अध्ययनबाट उक्त कुराको पुष्टि भएको हो । नासाको आर्थिक सहयोगमा गरिएको हालैको अध्ययनले सन् १९९२ को तुलनामा सन् २०२२ सम्म आइपुग्दा नेपालका डाँडाकाँडा दोब्बर हरियो देखाएको छ ।

३० वर्षअगाडि नेपाल सरकारले सामुदायिक वनको धारणा अघि सारेपछि उक्त सफलता मिलेको अध्ययनको निश्कर्ष छ । ५० वर्षअघि सन् १९७० को दशकमा नेपालको वनजंगल सबैभन्दा धेरै विनाश भएको थियो । त्यतिबेला राजनीतिक उद्देश्यले सबैभन्दा धेरै जंगल मासिएको बताइन्छ ।

अध्ययनको निश्कर्षमा लेखिएको छ, ‘नेपालका सामुदायिक वन २३ लाख हेक्टरमा फैलिएको छ । यो वनजंगलले ढाकेको क्षेत्रको एक तिहाई भाग हो । २२ हजार सामुदायिक वन समूहले ३० लाख घर परिवारलाई समेटेको छ ।’ 

अमेरिकी अन्तरिक्ष संस्था नासाको भूउपग्रह अभिलेखमा नेपालको वनजंगल सन् १९९२ को २६ प्रतिशतबाट बढेर अहिले ५० प्रतिशत नाघेको उल्लेख छ । भूउपग्रहको तस्बिर र स्थानीय सामुदायिक वनका अधिकारी,ग्रामीण वासिन्दाका अनुसार अधिकांश वन मासिएको अवस्थाबाट संरक्षित हुँदा पछिल्लो स्थिति बनेको हो ।
 

टिप्पणीहरू